सिनेसुत्र, बिराटनगर- हाल आक्रामक व्यापारमा रहेको नेपाली सिनेमा ‘ऊनको स्वीटर’ को नयाँ गीत ‘चाइनेजो जिन्दगानीमा’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक गरिएको यो गीतमा कलाकार एलेक्स पारस र परीक्षा लिम्बुको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।
सिनेमाका निर्देशक नवीन चौहानले गीतको रिलिज दर्शकको माग अनुसार गरिएको जानकारी दिए । उनका अनुसार, सिनेमाका सुरुवाती दर्शकलाई ‘सरप्राइज’ दिनका लागि यो गीत पहिले नै सार्वजनिक नगरिएको हो । साथै, यो गीत दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको आर्टमाण्डूले जनाएको छ ।
गीत सार्वजनिक गर्दै आर्टमाण्डूले भनेको छ, “चाइनेजो जिन्दगानीमा गीत मार्फत हामी आर्टमाण्डूको नेपाली सिनेमाको स्वर्ण युगप्रतिको हार्दिक श्रद्धा अनि सम्मान हो, जसले नेपाली फिल्मलाई आजको स्थानसम्म पुग्न आधार तय गरेका थिए । सुजन चापागाईँ द्वारा सङ्गीत एवम् स्वरबद्ध यो गीत सम्माननीय दिलीप रायमाझी र निरुता सिंहलाई समर्पित गरिएको छ, जसले त्यो युगको नोस्टाल्जिया र रोमान्सलाई समेट्छ ।”
गीतमा सुजन चापागाईँ र सलिना बिकको स्वर रहेको छ भने सङ्गीत पनि चापागाईँले नै तयार पारेका हुन् । हर्क साउदको शब्द रचना रहेको गीतको कोरियोग्राफी रोशन बिकले गरेका छन् । गीतको एरेन्ज कुशल सिंह र विकेश बज्रले मिलेर गरेका हुन् ।
शुक्रवारबाट प्रदर्शनमा आएको ‘ऊनको स्वीटर’ ले हलमा उल्लेखनीय व्यापार गरिरहेको छ । आइतबार तेस्रो दिनसम्म आइपुग्दा पनि दर्शकको उत्साह घटेको छैन । सोमवार सार्वजनिक बिदा भएकाले व्यापार अझ तीव्र हुने अपेक्षा गरिएको छ ।
विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, र सुनिल पोखरेल अभिनीत सिनेमा ‘ऊनको स्वीटर’ का ट्रेलर, टिजर र गीतहरूले दर्शकको आकर्षण खिचिरहेका छन् । पहिलो दिनदेखि नै देखिएको दर्शकको उल्लेखनीय उपस्थिति सिनेमाको सफल यात्रा तर्फको सङ्केत गरिसकेको छ । भिडियो हेर्नुहोस :

