‘पूर्णबहादुरको सारङ्गी’मा हराएकी अञ्जना ‘सिन्दुरे जात्रा’मा भेटिइन् : विजयको प्रेममा फेरि खलनायक बने विनोद

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘सिन्दुरे जात्रा’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले सिनेमाको ‘बाँसैको सुप्लाखे’ गीतपछि आज टिजर सार्वजनिक गरेको हो । टिजरमा सिनेमाका मुख्य तीन कलाकार विजय बराल, अञ्जना बराइली र विनोद न्यौपाने देखिएका छन् । टिजरमा प्रेम, खुसी, धोका र पीडा समेटिएको छ ।

मौलिक परम्परागत संस्कृतिबाट सुरु हुने टिजरमा सुरुमा विजय र अञ्जनाको प्रेम, विवाह र खुसी देखाइएको छ । त्यसपछि टिजरमा द्वन्द्व सिर्जना गर्न एन्टागोनिस्ट विनोद न्यौपानेको प्रवेश हुन्छ । उनको प्रवेशसँगै वियोगमा फसेका विजयको अवस्था र अञ्जनाले व्यहोरेको धोका तथा त्यसपछिको पीडा टिजरमा देखिन्छ ।

प्रेमिल कथा र घटनाक्रमबाट सुरु हुने टिजर धोकासँगै कलाकारको दुःखले सिर्जना गर्ने इमोसनमा गएर टुंगिन्छ । गाउँको सेटअपले धेरैलाई नोस्टाल्जिया सिर्जना गर्छ ।

‘सिन्दुरे जात्रा’लाई सरोज पौडेलले निर्देशन गरेका छन् । यो सिनेमामा नेपाली सिनेमा उद्योगकै बक्सअफिसको ब्लकबस्टर जोडी विजय बराल र अञ्जना बराइली छन् । उनीहरूको यो दोस्रो सहकार्य हो । यसअघि यो टिमले नेपाली सिनेमा इतिहासकै सर्वाधिक सफल मानिएको ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेको थियो ।

सिनेमामा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटा, हिउँवाला गौतम, राकेश खड्का, युना खड्का, अनिता गिरी, रजनी गुरुङ, देशभक्त खनाल र विनोद परियारलगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको सिनेमामा निर्देशक पौडेल स्वयंको कथा छ । सारङ्गी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको सिनेमाका निर्माता नेम महर्जन हुन् । सह–निर्माताका रूपमा राकेश खड्का र श्याम मगर छन् भने एसोसिएट निर्माता सुमन रञ्जित र लाइन निर्माता अनिश अधिकारी रहेका छन् ।

दिनेश खड्का कार्यकारी निर्माता रहेको सिनेमाका पदमबहादुर श्रेष्ठ (बाबु) डीओपी, सुरेन्द्र पौडेल सम्पादक र विशाल घिमिरे क्रिएटिभ निर्देशक रहेका छन् । यस सिनेमामा प्रशान्त सिवाकोटीको संगीत रहेको छ ।

मंसिर १८ गते रिलिज हुने सिनेमाको वितरण जिम्मेवारी नेसनल सिने ग्रुप नेपालले सम्हालेको छ । सिनेमाको थिएटर पार्टनरका रूपमा बिग मुभिज रहेको छ भने ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको छ । टिजर हेर्नुहोस :

सम्बन्धित समाचारसबै