सिनेसुत्र, बिराटनगर- असोज २४ गते फूलपातीको दिन रिलिज हुने सिनेमा ‘ज्वाइँ साब’ले केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)बाट युनिभर्सल ‘यू’ सर्टिफिकेट प्राप्त गरेको छ, जसले यो सिनेमा सबै उमेरका दर्शकले हेर्न सक्ने बताउँछ।
आइतबार साँझ सेन्सर बोर्डले सिनेमालाई अनुमोदन गर्दै ‘यू’ सर्टिफिकेट दिएको हो । निर्देशक वसन्त निरौलाका अनुसार, सेन्सर बोर्डका सदस्यहरूले सिनेमा हेरेपछि निकै उत्साहित प्रतिक्रिया व्यक्त गरेका थिए। “उहाँहरूले सिनेमा उत्कृष्ट बनेको भन्दै बधाई दिनुभयो, र उहाँहरूको प्रतिक्रियाले हामीलाई थप प्रेरित गरेको छ,” निरौलाले खुसी व्यक्त गर्दै भने।
‘ज्वाइँ साब’को निर्देशन वसन्त निरौलाले गरेका हुन् भने राजकुमार पण्डित प्रस्तुतकर्ता रहेका छन्। सिनेमामा जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, र इशान राउत लगायतका कलाकारहरूको अभिनय रहेको छ।
रेड आइ फिल्म्सको व्यानरमा निर्मित यो सिनेमा समिर पण्डित, सौगात पण्डित, र पदमलाल तामाङको लगानीमा बनेको हो। विजय बस्याल कार्यकारी निर्माता हुन् भने शंकर धितालको लेखन, सबिन अधिकारीको कथा, श्याम तामाङको छायांकन, संजय थापाको एक्सन, र अर्जुन पोखरेल तथा महेश ताम्राकारको संगीत रहेको छ। ‘ज्वाइँ साब’लाई एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।