




सिनेसुत्र, बिराटनगर- हिमेश पन्तले आफ्नो अर्को सिनेमा ‘ज्वाइँ साब’ मार्फत दर्शकलाई यसपटक नयाँ पात्र प्रस्तुत गर्दैछन्। यो सिनेमा फूलपातीको दिन, यही बिहीबारदेखि रिलिज हुँदैछ। ‘वर एण्ड बधु’बाट सिने जगतमा डेब्यू गरेका हिमेशका लागि ‘ज्वाइँ साब’ दोस्रो सिनेमा हो।
कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’बाट उदाएका कलाकार हिमेश पन्तले सुरुमा ‘वर एण्ड बधु’ मा अनुबन्धित भएका थिए । उनी केही समय राजनीतिमा पनि सक्रिय भए। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका उनी धादिङबाट चुनाव लडेका थिए, तर सफल हुन सकेनन्। “राजनीतिमा हुँदा नै मलाई सिनेमाको अफर आएको हो। अफर आउँदा मसँग सोधियो, ‘तपाईं त राजनीतिमा हुनुहुन्छ, अब सिनेमा गर्नुहुन्न होला, कि कसो?’ तर मेरो चाहना भने कमेडीमा कमब्याक गर्ने नै थियो,” हिमेशले बताए।
‘ज्वाइँ साब’ आफ्नो लागि एकदम फरक र रमाइलो अनुभव भएको उनी बताउँछन्। “स्क्रिप्ट पढ्दै गर्दा हाँसो रोक्नै सकिनँ। कथामा नयाँपन थियो, यसले दर्शकलाई आकर्षित गर्नेछ भन्नेमा मलाई विश्वास भयो,” हिमेशले भने।
सिनेमामा हिमेशले ‘घने’ नामक पात्रको भूमिका निभाएका छन्। उनका अनुसार घनेको परिवार मध्यमवर्गीय हुन्छ, विदेश जाने योजना बनाउँछ तर जान सक्दैन। हिमेशले मध्यमवर्गीय परिवारका समस्याहरूलाई पर्दामा प्रस्तुत गरेका छन्।
ट्रेलरमा देखाएझैं, हिमेशले ज्वाइँ बन्नका लागि अन्य पात्रसँग कडा प्रतिस्पर्धा गर्छन्। यद्यपि, वास्तविक जीवनमा उनले यस्ता संघर्षको सामना गर्नु परेको छैन। “म आफ्नो क्षेत्रमै राम्रो गरिरहेको छु, मलाई धेरै प्रस्तावहरू पनि आइरहेका छन्, तर म चयनित भएर काम गर्न चाहन्छु,” हिमेशले प्रष्ट पारे।
कमेडी विधामा अब्बल मानिने हिमेश भविष्यमा एक्सन सिनेमा पनि गर्न चाहन्छन्। “कमेडीबाहेक एक्सन जनरामा पनि मलाई सुट हुन्छ भन्ने लाग्छ। मैले ‘शमशेर’ नामक सिनेमामा अभिनयका लागि साइन गरेको थिएँ तर त्यो प्रोजेक्ट अघि बढेन। अब भविष्यमा एक्सन जनरामा पनि आफूलाई प्रस्तुत गर्ने सोच छ,” उनले भने।
उनले हिरो वा लिड क्यारेक्टरको भूमिकामा काम गर्ने इच्छा राखेका छन्। “तुरुन्तै भन्ने छैन, तर कामको अनुभव लिएपछि म आफूलाई लिड रोलमा देखाउन सक्षम हुने छु भन्नेमा विश्वास छ,” हिमेशले भने।
बसन्त निरौलाले निर्देशन गरेको यो सिनेमामा हिमेशसँगै जितु नेपाल, निती शाह, बुद्धि तामाङ, रमेश बुढाथोकी, प्रकाश घिमिरे, शिशिर वाङ्देल, र दीपक आचार्यजस्ता कलाकारहरूको पनि अभिनय रहेको छ।