विश्वकै कान्छा निर्देशक सौगात बिष्ट ६ वर्षपछि निर्देशनमा फर्किंदै – सिनेसुत्र

0 Shares

सिनेसुत्र, बिराटनगर – विश्वकै कान्छा सिनेमा निर्देशकको रूपमा गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका सौगात बिष्ट ६ वर्षपछि निर्देशनमा फर्कने भएका छन्।
हालै सामाजिक सञ्जाल मार्फत सौगातले आफ्नो नयाँ छोटो सिनेमा ‘भुवा’ को निर्माणको घोषणा गरेका हुन्।
यस सिनेमाको आधिकारिक पोस्टर सार्वजनिक भए पनि सिनेमाको विस्तृत विवरण भने हालसम्म गोप्य राखिएको छ।

हाल १८ वर्ष पुगेका सौगात बिष्ट अहिले काठमाडौं स्थित मनास्लु कलेजमा “ल” विधालाइ लिएर प्लस ‘टु’ अध्ययनमा व्यस्त छन्। यद्यपि, उनको निर्देशनमा केही नयाँ गर्ने चाहनाले उनलाई सिनेमा क्षेत्रबाट टाढा हुन भने दिएको छैन। कला र कलाकारितामा गहिरो पृष्ठभूमि भएका सौगातको बाल्यकाल यस्तै माहोलमा बितेको हुँदा नेपाली सिनेमा क्षेत्रमा योगदान दिनु उनको विशेष सपना बनेको छ।

सौगातका बुवा गजित बिष्ट नेपाली सिनेमा उद्योगका अनुभवी कलाकार हुन्, भने उनका काका गम्भीर बिष्ट चर्चित नृत्य निर्देशकका रूपमा स्थापित छन्।

यस्तो पारिवारिक माहोलले उनलाई सिनेमा क्षेत्रमा सक्रिय राखेको छ। दशै-तिहारको छुट्टीलाई सदुपयोग गर्दै, सौगातले छोटो सिनेमा ‘भुवा’ निर्देशन गर्न लागेको जानकारी छ।

यो छोटो सिनेमाले उनलाई आगामी फिचर सिनेमाको तयारीका लागि महत्वपूर्ण अनुभव दिने विश्वास गरिएको छ।  ‘भुवा’ बिशेषत फेस्टिभलको लागि निर्माण गर्न लागिएको उनले बताएका छन ।

‘भुवा’ डान्स फिवरको ब्यानरमा निर्माण हुनेछ र आगामी हप्तामा यसको छायांकन सुरु हुने अपेक्षा गरिएको छ। यस छोटो सिनेमामा बाल कलाकारको रूपमा राष्ट्रिय पुरस्कार विजेता सौगात बिष्टको लेखन रहने बताइएको छ, भने सौगातका पिता, गजित बिष्टले पनि अभिनयमा सहभागिता जनाउने चर्चा छ।

सौगात बिष्टले सन् २०१४ मा ७ वर्ष ३४० दिनको उमेरमा निर्देशन गरेको फिचर सिनेमा ‘लभ यु बाबा’ मार्फत विश्वकै कान्छा निर्देशकको रूपमा कीर्तिमान राखेका थिए। त्यसपछि, उनले सन् २०१८ मा ‘हैरान’ नामक अर्को सिनेमा निर्देशन गरेका थिए।

सौगात बिष्टले निर्देशनमा वर्ल्ड रेकर्ड राखेको सिनेमा :

सम्बन्धित समाचारसबै