सिनेसुत्र, बिराटनगर- सिनेमा ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई आफ्नो कथा बनाएको छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बाः एक योद्धा’को मुख्य कथा हो । कथाले यो सिनेमाको केन्द्रमा बुवा हुने संकेत गर्छ ।
त्यसो भए यो सिनेमाको हिरो अथवा ‘बा’ को हो त ? सिंगो सिनेमा आफ्नो काँधमा बोकेर हिँड्ने ‘बा’ को हो ? ‘बाः एक योद्धा’ले विस्तारै आफ्ना कलाकार रिभिल गर्दै गएको छ । त्यसैक्रममा केही दिनअघि मात्रै सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माण टिमले सार्वजनिक गरेको थियो । त्यसअघि झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्तको नाम बाहिर ल्याइएको थियो ।
सिनेमाको छायांकन सकिएको छ । पोस्ट–प्रोडक्सनको काम समेत सुरु भइसकेको छ । तर, यो सिनेमाको मुख्य पात्र अर्थात् ‘बा’ को भूमिकामा को छन् भन्ने निर्माण टिमले हालसम्म खुलाएको छैन । “हामी विस्तारै यो सिनेमाबारे थप जानकारी दिँदै जानेछौँ । हाम्रा कलाकार र अन्य जानकारी पनि क्रमशः सार्वजनिक हुँदै जानेछन्,” निर्देशक हरि लम्सालले भने, “हामी हाम्रो सिनेमाको ‘बा’ को हुन् भनेर पनि केही समयमै जानकारी दिनेछौँ ।”
हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमा ‘बाः एक योद्धा’ कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउनेछ । सिनेमाको कथासँग रिलिज मिति मिलाउँदै यो सिनेमा कुसे औँसीको अवसरमा प्रदर्शनमा आउन लागेको हो । नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीत दिएका संगीतकार हरि लम्साल रचनाकार तथा गायक पनि हुन् । फिचर सिनेमामा भने ‘बाः एक योद्धा’ उनको पहिलो निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाको कथा तथा पटकथा पनि लम्साल स्वयंले लेखेका छन् ।
सिनेमा ‘बाः एक योद्धा’का निर्माता वसन्त लम्साल हुन् । गायक तथा सर्जकसमेत रहेका उनले यसअघि अभिनेता विपीन कार्की अभिनीत सिनेमा ‘कर्मा’ निर्माण गरेका थिए । शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमाको मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने छन् । ‘बाः एक योद्धा’लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।