सिनेसुत्र, बिराटनगर- सर्वाधिक लोकप्रिय कलाकार हरिवंश आचार्यले मुख्य भूमिका निर्वाह गरेको सिनेमा ‘भूठान’ वैशाख १२, २०८२ मा प्रदर्शन हुने भएको छ।
अंग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो सिनेमाको मुख्य भूमिकामा हरिवंश आचार्य साथै दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द-लामा, रिचा घिमिरे, जोयस पाण्डे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी साथै हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्नले पनि विशेष भूमिकामा अभिनय गरेका छन्। हलिउडको साग अफट्रा अन्तर्गत रहेर बनेको यो पहिलो नेपाली सिनेमा हो जसमा हलिउडका केही प्राविधिकहरूले पनि काम गरेका छन्।
सन् २०१९ मा पहिलो सिनेमा “बुलबुल” निर्देशन गरेर ९२ औं अस्कर अवार्डमा नेपालको तर्फबाट मनोनित एवं नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय सिनेमा पुरस्कार पाएका विनोद पौडेलको यो दोस्रो सिनेमा हो। निर्देशक पौडेलका अनुसार यो सिनेमा संसारभरका दर्शकको लागि बनाइएको र विश्वको जुनसुकै कुनाको जोसुकैले हेर्दा पनि कथाको भाव र गहिराई महसुस गर्नेमा आफू विश्वस्त रहेको बताउँछन्।
निर्मातामध्येका एक अविरल थापा भन्छन्, यस सिनेमामा हरिवंश आचार्यको अहिलेसम्म कतै नदेखिएको विल्कुल नयाँ अवतार र अद्भुत अभिनय देख्न पाइनेछ। हरिवंश आचार्यको जीवनकै कालजयी सिनेमा हुनेमा आफू ढुक्क रहेको थापा बताउँछन्।
नेपालमा यसको वितरण आरआर फिल्मस् प्रोडक्सनले गर्नेछ। यसका अर्का निर्माता राजेन्द्र ठकुराठीका अनुसार विश्वभरिका सिनेमाहलमा बलिउड र हलिउडकै वितरकको संलग्नतामा यस सिनेमालाई एकै मितिमा प्रदर्शन गर्नको लागि पनि काम भइरहेको छ।
भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छोड्न पर्दाको कथा र आफ्नो जराको खोज समेटेर बनेको यस सिनेमा ‘भूठान’ (द वल्र्डस् ह्याप्पिएस्ट म्यान) को सम्पूर्ण छायांकन अमेरिकामै केही महिना अघि सम्पन्न भएको थियो।
यस सिनेमाको प्रमुख निर्मातामा राजेन्द्र ठकुराठी, अमिताभ जोशी, अविरल थापा, सुशांक मैनाली, र किर्तना बाँस्कोटा छन्। साथै कार्यकारी निर्मातामा विकास भिटो अधिकारी, एलएन अधिकारी, कौशिला खनाल-कर्माचार्य, रमेश भट्ट, अपार श्रेष्ठ, र भुवन प्याकुरेल छन्। सहनिर्मातामा जोयस पाण्डे, प्रदीप शर्मा (बडाईं) र नवराज पराजुली रहेका छन्। यसका अतिरिक्त दीपक गजमेर लाइन प्रोड्युसर र एसोसियट प्रोड्युसरमा एली बोहरा रहेका छन्।
सिनेमामा सुसन प्रजापतिको छायांकन, अन्जय खड्काको सम्पादन, डिकेश खडगी शाहीको ध्वनी, सूर्य शाहीको कास्टिङ, उज्जवल श्रेष्ठको पब्लिसिटी डिजाइन, विमल सुवेदीको प्रोडक्सन डिजाइन, बलिउडका प्रख्यात कला निर्देशक अन्जन गजुरेलको कला निर्देशन रहनेछ। किर्तना बाँस्कोटा, एली बोहरा, विशाल डोटेल, र समुन्द्र राज घिमिरेले निर्देशनमा सहयोग गरेका छन्।
यस सिनेमालाई ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो।