सिनेसुत्र, बिराटनगर- सिनेमा ‘माइतीघर’ले कलाकारको अन्तिम लाइनअप सार्वजनिक गरेको छ। सिनेमाका निर्माता रोहित अधिकारीले आइतबार सार्वजनिक गरेको सूचीमा केही कलाकार हेरफेर भएको देखिएको छ।
दिकिला शेर्पा सिनेमाबाट बाहिरिएकी छिन्। सिक्किमकी चर्चित अभिनेत्री श्यामाश्री शेर्पाको प्रवेश भएको छ। श्यामाको पछिल्लो सिनेमा ‘तारा : द लस्ट स्टार’ गतवर्ष भारतबाट कान्स फिल्म फेस्टिभलको मार्केटमा छनोट भएको थियो।
निर्माता अधिकारीले दिकिलाको ठाउँमा श्यामाश्री अनुबन्धित भएको पुष्टि गरे। ‘श्यामाश्री सँग कागजी सम्झौता गरिसकिएको छ।
श्यामाश्रीले साम्तेन भुटिया निर्देशित फिचर सिनेमा ‘तारा : द लस्ट स्टार’सहित भारतीय वेब-श्रृंखला, विज्ञापन, म्युजिक भिडियोमा अभिनय गरेकी छन्।
चैत अन्त्यदेखि छायांकन तयारीमा रहेको सिनेमा ‘माइतीघर’मा प्रकाश सपुत, धीरज मगर, केदार घिमिरे, उपासनासिंह ठकुरी, बुद्धि तामाङ, माओत्से गुरुङ, शिशिर बाङ्देललगायतको अभिनय हुने जनाइएको छ।
मिलन तामाङले निर्देशन गर्ने यो सिनेमामा रविन शेरचन र धीरज तामाङ निर्माताको रूपमा हुनेछन्। चन्द्रकुमार दोङको कथा, इश्वर श्रेष्ठ र नीरज कटुवालको कार्यकारी निर्माण हुनेछ। रोहित अधिकारी फिल्म्सको ब्यानरमा सिनेमा निर्माण हुन लागेको हो।


