सिनेसुत्र, बिराटनगर- आगामी असोज २ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको नेपाली सिनेमा ‘कार्की साइँला’ को ट्रेलर सार्वजनिक भएको छ। निर्माण टिमले सिनेमाको प्रदर्शन मिति नजिकिँदै गर्दा मंगलबार आधिकारिक ट्रेलर रिलिज गरेको हो।
‘मुभिज डिजिटेनमेन्ट’ युट्युब च्यानलमार्फत रिलिज भएको ट्रेलरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को कथा वरिपरि घुमेको छ। भारी बोक्ने भरियाको काम गर्दै आएका कार्की साइँलाको विवाह तथा सन्तानको खुशीसँगै गाउँलेको हेपाइ प्रवृत्तिलाई पनि देख्न सकिन्छ। ट्रेलरमा आफ्नो मात्रै नभई अरूका लागि समेत लमी बनेको देखिन्छ। साथै गाउँमा आएकी एक युवती (प्रियाना आचार्य)को भारी बोकेर बोकिदिँदा पैसा लिनै मान्दैनन्। पछि उनैसँग प्रेम विवाहपछि सन्तान बसेको ट्रेलरमा देखाइएको छ।
महिलाले जहाँ रोए पनि हुन्छ तर पुरुषले रुनका लागि एकान्त नै खोज्नुपर्ने कुरालाई समेत ट्रेलरमा उठाइएको छ। यसको वास्तविकता के हो र कसरी सिनेमालाई अगाडि बढाइएको छ भन्ने कुरा आगामी असोज २ गते थाहा हुने नै छ।
सिनेमामा जितु नेपालका साथै प्रियाना आचार्य, सुशील पोखरेल, बीरेन्द्र सिंह कुशवाहा, मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ। डम्बर राईको कथामा बनेको यस सिनेमाको पटकथा एवं संवाद शंकर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। साथै सिनेमालाई राजेन्द्र बस्नेतले निर्देशन गरेका छन्।
बाल कुमार राई र निर्भिक बञ्जारा निर्माता रहेको यस सिनेमाका कार्यकारी निर्माता अनन्त राई हुन्। दिप्सन लिम्बु र संकेत अगस्थीको सङ्गीत रहेको सिनेमाको यसअघि सार्वजनिक गीत ‘लग्यौ परान’ले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको छ।
सिबि भण्डारीको प्रोडक्सन म्यानेजमेन्ट र रबी केसीको शृङ्गार रहने यस सिनेमाको पोस्ट प्रोडक्सनको काम ग्लोबल रिल मोशन पिक्चर्सले गर्नेछ। डिजिटल पार्टनर मुभिज डिजिटेनमेन्ट रहेको छ। सिनेमालाई कुबेर फिल्मस्ले वितरणको जिम्मा लिएको छ।