सिनेसुत्र, बिराटनगर- विश्वभरबाट हेर्न सकिने गरि नेपाली ओटीटी प्लेटफर्म एमएसएम भिडियोमा ‘हल्कारा’ रिलिज भएको छ। गत वर्ष नेपालमा रिलिज भएको सिनेमा ‘हल्कारा’ ९६औँ एकेडेमी अवार्ड (अस्कर)मा नेपालबाट सिफारिस समेत भएको थियो ।
उक्त सिनेमाले संयुक्त राज्य अमेरिकाको लस-एन्जलसमा आयोजित एसियन वर्ल्ड फिल्म फेस्टिभलमा छनोट भएको थियो भने ५५औँ वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा उत्कृष्ट सिनेमासँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड जितेको थियो।
हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यस सिनेमाले अन्य केही अन्तर्राष्ट्रिय महोत्सवहरूमा पनि सहभागिता जनाएको छ। नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाइनलसम्म पुगेको थियो। त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो।
महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय रहेको ‘हल्कारा’ लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन्। यसमा विप्लव प्रतीक र आकाश बरालले सह-लेखन गरेका छन्। महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ। यो सिनेमा कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो। यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्युजिक रहेको छ भने प्रोडक्सन साउन्ड ज्योति रानाको रहेको छ। कलरिस्ट लियोनार्डो क्यानेडियन हुन्।


