सिनेसुत्र, बिराटनगर- फागुनको १४ गते महाशिवरात्रीको अवसर पारेर सिनेमा ‘मायाबी’ रिलिजमा आउँदैछ । यो सिनेमाको ३ वटा गीत र केही पोस्टर सार्वजनिक भइसकेका छन् । सार्वजनिक गीत र पोस्टरबाट दर्शकमा सिनेमाप्रति उत्साह बढेको छ ।
यो सिनेमालाई दिवाकर भट्टराइले निर्देशन गरेका हुन् । जसले, ‘मेरो जीवन साथी, स्टूपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् । लभ स्टोरी सिनेमा बनाउने कुरामा दिवाकर सधैँ नै अगाडि छन् । तर, यसपटक लभ स्टोरी कथा भए पनि आफ्नो मनको कथा भन्न पाएकोमा दिवाकर खुशी देखिएका छन् ।
के हो त ‘मायाबी’? दिवाकर भन्छन्– ‘मायाबी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो । आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतीक हो मायाबी । बाबु आमा, छोराछोरी, प्रेमी प्रेमिका नै किन नहोस्? जो-कोहीको पनि त्याग, जुनून हुन्छ । मायाबीले यही कथा भन्छ ।’
दिवाकर अगाडि थप्छन्– ‘दुनियाँमा प्रेम पाउनेको कथा भन्दा पनि त्याग गर्नेको कथा नै मजबुत हुन्छ । पीडा पाएर पनि खुशी हुने पात्रको कथा हो मायाबी । प्रेमको त्यही त्यागको कथामा हामीले सिनेमा बनाएका छौं ।’
दिवाकरले पोखराको सेरोफेरोमा खिचिएको एउटा सामान्य वर्गको परिवारको कथामा यो सिनेमा बनाएको बताउँछन् । उनले भने– ‘पाएर गुमाउन सक्नुहुन्छ, तर गुमाएर पनि पाइरहनु मायाबी हो ।’
यसपटक दर्शकले फरक स्वादको प्रेमकथा यो सिनेमामा हेर्न पाउने उनको तर्क छ । उनले थपे– ‘खुशी र सुख फरक कुरा हुन् । कहिलेकाहीँ हामी जहाँ बाँचिरहेका छौं, सुख खोज्दा खुशी हराएको हुन्छ । सामान्य मानिस कुन परिवेशमा खुशी हुन सक्छ र सुख अनुभूति गर्छ भन्ने कथामा यो सिनेमा बनेको छ । जीवनमा कुनै व्यक्ति नकारात्मक कुरामा पनि खुशी हुन सक्छ । धनाढ्यका लागि पैसा कमाउनु खुशी हुन सक्छ भने, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुशी मिल्न सक्छ । हामीले यस्तै कथा सिनेमामा भनेका छौं ।’
दिवाकर यो सिनेमाबाट आफूलाई सन्तुष्टि मिलेको बताउँछन् । उनले भने– ‘यो मैले मेरो मनबाट बनाएको सिनेमा हो । म रोमान्टिक सिनेमा निर्देशक हुँ । मैले मनदेखि भन्न खोजेको कथा हो मायाबी । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हुँ । म मायाबीबाट आफ्नो करिअर सुरु भएको मान्छु । यसअघि बनाएका सिनेमामा मेरो कथा थिएन । ती सिनेमामा म निर्देशक मात्र थिएँ, तर मायाबी मेरो कथा हो ।’
दिवाकरले सिनेमाको कथा लेख्दा कोही नायक वा नायिका दिमागमा नभएको बताए । आफ्नो दिमागमा ‘जोय’ भन्ने पात्र रहेको र उसैको सेरोफेरोमा रहेर यो सिनेमाको कथा लेखेको उनको भनाइ छ ।
उनका अनुसार, भोलिका दिनमा दर्शकले यो सिनेमालाई जस्तो रुपमा लिए पनि आफू भने निकै सन्तुष्ट छन् । व्यापार जस्तो भए पनि आफू खुशी हुने उनको भनाइ छ ।
पोखराको सेरोफेरोमा रहेको एक सामान्य परिवारको खुशीको कथा आफूले ‘मायाबी’बाट भनेको दिवाकरले जानकारी दिएका छन् ।
पल शाह, दीपिका प्रसाईँ, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठ लगायतका कलाकारहरूले यो सिनेमामा अभिनय गरेका छन् । सिनेमा हेरेपछि दर्शकले प्रेमको परिभाषामा नयाँपन पाउने विश्वास निर्देशक भट्टराइको छ ।



