कर्मा’ सिनेमाको पहिलो चरणको छायांकन सम्पन्न, नयाँ वर्षमा रिलिजको तयारी

0 Shares

सिनेसुत्र, बिराटनगर- निर्देशक सौरभ चौधरीको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘कर्मा’को पहिलो चरणको छायांकन सम्पन्न भएको छ।

गत मंसिरको अन्तिम साताबाट सुरु भएको सिनेमाको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ। अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ। निर्देशक चौधरीका अनुसार आगामी १० दिनभित्र सम्पूर्ण सुटिङ सम्पन्न गरिनेछ।

‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम समेत भइरहेको छ। निर्देशक चौधरीले भने, “हामीले दिनरात नभनी अत्यन्तै मेहनतका साथ काम गरिरहेका छौँ। अबको दुई सातामा छायांकन पूरा हुनेछ, त्यसपछि पोस्ट-प्रोडक्सनको कामलाई तीव्रता दिनेछौँ। अहिलेसम्म कुनै बाधा-अड्चन बिना छायांकन सम्पन्न भइरहेको छ।”

यसबीच, पूर्वघोषित मितिमा सिनेमा प्रदर्शन नहुने भन्ने हल्लाको खण्डन गर्दै उनले भने, “गलत हल्लामा नलाग्न दर्शकलाई अनुरोध गर्दछौं। काम तीव्र गतिमा अगाडि बढिरहेको छ, हामी पूर्व निर्धारित मिति चैत्र २९ गते नै सिनेमा रिलिज गर्नेछौं।”‘कर्मा’मा अभिनेता विपिन कार्की, अभिनेत्री उपासना सिंह ठकुरी, कलाकार मुकुन भुसाल र दिव्यदेव पन्त मुख्य भूमिकामा रहेका छन्। विपिन र उपासना पहिलो पटक सहकार्य गर्दैछन् भने मुकुन भुसाल नेगेटिभ भूमिकामा प्रस्तुत हुनेछन्।

सिनेमाको कथावस्तुको विषयमा निर्माणपक्षले अहिले केही पनि बताएको छैन भने सिनेमामा मुख्य कलाकार बाहेक अन्य कलाकारहरूको को-को छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन। निकट भविष्यमा उनीहरूको नाम सार्वजनिक गरिने निर्देशक चौधरीले बताए।

एक्सन ड्रामा जनरामा निर्माण भइरहेको ‘कर्मा’को कथा निर्देशक चौधरी स्वयंले लेखेका हुन्। चौधरीका अनुसार अभिनेता विपिन कार्की पहिलो पटक एक्सन अवतारमा देखिन लागेका छन्।

आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहने सिनेमा ‘कर्मा’लाई बसन्त लम्सालले निर्माण गरिरहेका छन्। यो सिनेमाको छायांकन सुरु हुनु अगावै ‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गरिसकेको छ। सेभेन सिज सिनेमाले सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार लिएको छ।

सिनेमाको छायांकन संजय लामाले गरिरहेका छन्। निर्देशक चौधरीको ‘कर्मा’ तेस्रो निर्देशकीय फिचर सिनेमा हो। उनले यसअघि ‘अगस्त्यः च्याप्टर १’ निर्देशन गरेका थिए, जसले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो। त्यसैले ‘कर्मा’बाट पनि ठूलो अपेक्षा गरिएको छ।

सिनेमा ‘कर्मा’ नयाँ वर्षको अवसर पारेर चैत्र २९ गते प्रदर्शनमा आउने तयारीमा छ।

सम्बन्धित समाचारसबै