सडक नाटकबाट सिनेमा प्रवेश: कृष्णप्रसाद धिताल ‘जुनाः एक व्यथा’ मार्फत डेब्यू

0 Shares

सिनेसुत्र, बिराटनगर- नाटक अभिनयमा डेढ दशक बढी समय बिताइसकेका कलाकार कृष्णप्रसाद धिताल यही माघ २५ गतेबाट रिलिज हुने सिनेमा ‘जुनाः एक व्यथा’मार्फत सिनेमा क्षेत्रमा डेब्यू गर्दैछन् । सिनेमाकी प्रमुख कलाकार अस्मिता ढकालको श्रीमान बिर्खलालको भूमिकामा अभिनय गरेका कृष्ण सिनेमाबाट आशावादी छन् ।

रत्नपार्कमा परिवार नियोजन सम्बन्धी सडक नाटकमा अभिनय गरिरहँदा कृष्णलाई सिनेमा ‘जुनाः एक व्यथा’मा अभिनयको अवसर मिलेको थियो । ‘रत्नपार्कमा नाटक देखाइरहँदा निर्देशक जीवन सेन्चुरीले त्यो नाटक हेरिरहनु भएको रहेछ । उहाँले मेरो काम मनपराउनु भएछ । सिनेमाका लागि चाहिने पात्र अनुसार म फिट देखिएछु । त्यहीकारण उहाँले सिनेमामा कामको लागि प्रस्ताव गर्नुभयो’, कृष्ण भन्छन् ।कृष्णले नाटक अभिनयको अधिकांश समय गाउँ र बस्तीमै बिताए । उनी आफ्नो नाटक समूह आवाज आर्ट क्रिएसन्मार्फत नेपालका गाउँ र बस्तीमा सडक नाटक लिएर पुग्थे । ‘हामीले मञ्चन गरेका अधिकांश नाटक बाल विवाह, अनमेल विवाह, महिला हिंसासँग सम्बन्धित नै थिए । सिनेमाको विषयवस्तु र नाटकको विषयवस्तु मिल्यो । सिनेमामा सुरुवाती दिनमा काम गर्न केही असहज भए पनि विस्तारै सहज बन्यो’, कृष्ण खुल्छन् ।

कृष्णले नाटक र केही टेलिभिजन सिरियलमा अभिनय गरेका थिए । तर सिनेमामा पहिलोपटक अभिनय गरेकाले उनलाई केही चुनौती अनुभव भयो । ‘सिरियलमा क्यामरा फेस सामान्य तरिकाले गरिएको थियो । तर सिनेमामा त फरक हुन्छ । सिनेमाको प्राविधिक पक्षबारे मलाई धेरै थाहा थिएन । नाटकमा स्वतन्त्रता थियो र सिनेमामा त सीमित घेराभित्र काम गर्नुपर्दो रहेछ । मेरो बुझाईमा सिनेमा निर्देशक हो भने नाटक कलाकार हो’, उनी भन्छन् ।

कृष्णले सिनेमाकै लागि कोही पनि पात्र भेटेनन् । तर त्यो पात्रलाई दिमागमा ‘भिजुलाइज’ भने गरे । ‘म अधिकांश नाटकमा त्यही पात्रमा अभिनय गर्थें । त्यसकारण पनि ममा अभ्यास राम्रै थियो । सुटिङ अघिको वर्कसपले पनि थप मजबुत बनायो’, उनी भन्छन् ।

सिनेमाको सुटिङ हुँदा कृष्ण ८५ किलोका रहेछन् । अनुहारमा दाह्री पनि थियो । सिनेमाको छायांकन पूरा भएपछि उनी ५२ किलोका भए । अहिले ६४ किलोका छन् । ‘त्यो बेलाको लुक्स र अहिलेको लुक्स फरक छ । त्यसकारण पनि धेरै मान्छेले त्यो पात्र मै हुँ भन्दा पत्याउँदैनन्’, कृष्ण हाँस्छन् ।सिनेमाको कथाले नै आफूलाई ‘जुनाः एक व्यथा’ तानेको उनी खुलाउँछन् । ‘हामी वर्षौदेखि यही सामाजिक विषयमा नाटक गरिरहेका थियौं । बाल विवाह, लैंगिक हिंसा, लागु औषधका कुरा नाटकमा हुन्थे । धेरै नाटक बाल विवाहसँग सम्बन्धित नै थिए । हामीले समाज सुधारका लागि नाटकलाई माध्यम बनाइरहेका थियौं । त्यसमाथि सिनेमामा नै अभिनय गर्नुपर्ने प्रस्ताव र कथा पनि मिल्ने भएकाले सिनेमाले अझ बोल्ड किसिमले समाजमा सन्देश प्रवाह गर्न सक्छ भन्ने लाग्यो’, उनी भन्छन् ।

कृष्णको बुझाईमा नाटकको अभिनयले उनलाई सिनेमामा आफ्नो चरित्र निभाउन निकै सजिलो भएको रहेछ । ‘नाटक गर्न जाँदा त्यस्ता पात्र समाजमा देखेका थियौं । नाटक हेर्न आउनेले त्यस्ता घटना सुनाउथे, कति पीडित पनि भेट्न आउँथे । नाटक देखाईसकेपछि दर्शकहरु आफ्नो कथा सुनाउन आउँथे । जसले गर्दा मलाई चरित्र स्थापित गर्न सजिलो भयो’, कृष्ण भन्छन् ।

कृष्णका अनुसार सिनेमाको छायांकनस्थलमा उनी हरेक समय क्यारेक्टरमै हुन्थे । ‘टिजर र ट्रेलरमा मेरो जुन लुगा देख्नुभएको छ, त्यही लुगा लगाएर राती सुत्थें । आफूलाई चरित्रमै राखिरहनु पर्ने भएकाले धेरै असहज भएन । तर धेरै अगाडि सिनेमा बनेकाले आज मेरो जुन परिपक्कता छ, त्यो बेला त्यति धेरै थिएन’, कृष्ण विगत फर्कन्छन् ।

कृष्ण स्टेण्डअप कमेडीबाट उदाएका कलाकार हुन् । कमेडियन मनोज गजुरेललाई आफ्नो गुरु मान्ने कृष्णले गाईजात्रा प्रहसनमा मनोज गजुरेल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको चरित्र उतारिरहँदा उनी भने सुशील कोइराला गेटअपमा थिए । सिन्धुपाल्चोकको रेडियो मेलम्चीको सञ्चालकसमेत रहेका कृष्णले आरोहण गुरुकुलमा करिब डेढ वर्षसम्म सुनील पोखरेलसँग अभिनय सिकेका छन् ।

दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेन्चुरीको निर्देशन रहेको सिनेमा ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

सम्बन्धित समाचारसबै