‘बाँच्ने भए यही सिनेमाबाट, मर्ने भए यही सिनेमाबाट’: निर्देशक जीवन सेञ्चुरीको संघर्ष

0 Shares

सिनेसुत्र, बिराटनगर-  म्यूजिक भिडियो सम्पादन र निर्देशनमा व्यस्त रहँदा निर्देशक जीवन सेञ्चुरीले कुनै दिन चरित्र प्रदान सिनेमा को सपना साँचेका थिए । अहिले उनको त्यो सपना सिनेमा ‘जुनाः एक व्यथा’ले पुरा गरिदिएको छ । यो सिनेमा यही शुक्रबारबाट रिलिज हुँदैछ ।

यो सिनेमा सङ्ग जीवन जोडिनुको पछाडि बेग्लै कथा छ । जीवन काठमाडौंको गोङ्गबुमा रहेको अफिसमा बसिरहँदा लेखक राजबहादुर सानेसँग भेट भएको थियो । त्यो बेलामा उनले आफूले राख्न चाहेको पात्र राखेर सिनेमा बनाउने योजना सानेलाई सुनाए । ‘मैले उहाँलाई कथाको वान लाइन स्टोरी सुनाएर यो यो क्यारेक्टर राख्छु भनेको थिएँ । सानो बजेटमा सिनेमा बनाउने भनेपछि उहाँले कथालाई रिफाइन गरिदिनुभयो’, जीवन भन्छन् ।

राजबहादुरबाट स्क्रिप्ट लिएपछि उनले सुरुमा ४२ मिनेटको सर्ट सिनेमा बनाए । ७ लाख रुपैंयाँको लगानीमा बनाएको सर्ट सिनेमा सम्पादन गरेर हेरेपछि उनले तत्कालै सर्ट सिनेमा को सट्टा ठूलो सिनेमा बनाउने निर्णय लिए । ‘सिनेमा हेरिसकेपछि कथाले न्याय पाएन भन्ने भयो । सिनेमा हेरिरहँदा म रोएँ पनि’, उनले भने । सिनेमा बनाउने निर्णय लिएपछि उनले र साने मिलेर तीन वर्षको समयावधिमा ‘जुनाः एक व्यथा’को स्क्रिप्टको पुनर्लेखन गरे । स्क्रिप्ट पुरा भएपछि उनले सिनेमा कै लागि ३२ वटा लोकेसन हेरे । लोकेसन हेर्न नै उनी काठमाडौंदेखि मनाङ, मुस्ताङसम्म पुगे । ‘लोकेसन पाएर मात्र भएन । त्यहाँका स्थानीयको सहयोग, स्थानीय कथासँग म्याच हुनु पर्यो । त्यसपछि मैले आवेगमै आएर पर्वतको लोकेसन छनोट गरें’, उनी भन्छन् ।

स्क्रिप्ट फाइनल भएपछि उनको भेट निर्माता दीपकप्रसाद घिमिरेसँग भएको हो । जीवनका अनुसार उनले दीपकलाई ‘बाँच्छु त यही सिनेमा बाट, मर्छु त यही सिनेमा बाट’ भनेपछि दीपक सिनेमा मा पैसा लगाउन तयार भएका हुन् ।

जीवनलाई सिनेमा को शीर्ष कलाकार खोज्न निकै हम्मेहम्मे परेको थियो । ‘मैले प्रमुख पात्रका लागि झण्डै ७५ जना बालिकालाई भेटें । उहाँहरुलाई मेरो कार्यालयमा बोलाएर आफ्नो कम्पोजका केही अभिनय देखाउन भनें । अनि मैले पनि सिचुएसन दिएँ । तर अधिकांश बालिकाहरु सिनेमा को क्लाइमेक्स सुनेपछि डराउनुभयो । उहाँहरुलाई हामीले डराउनु पर्दैन, केही हुँदैन पनि भन्यौं । तर धेरैले मान्नुभएन’, जीवन सम्झन्छन् ।

जीवनका अनुसार सिनेमा को शीर्ष पात्रका लागि ‘हल्का डार्क’ र ‘इनोनसेन्ट’ अनुहार चाहिएको थियो । त्यस्तो अनुहार भएकी पात्र अस्मिता ढकाललाई जीवनले फेसबुकमा भेट्टाए । ‘अस्मितालाई सिनेमा प्रति असाध्यै रुची रहेछ । तर उहाँकी आमा भने छोरीलाई सिनेमा चाहनु हुन्न रहेछ । छोरीले सिनेमा को कुरै नगरुन् भन्ने उहाँको इच्छा रहेछ’, जीवन भन्छन्, ‘हामीले सम्झाई बुझाई गरेपछि उहाँ छोरीलाई सिनेमा मा अभिनय गराउन तयार हुनुभयो । हामीले उहाँको घर नजिकैको कल्चर सेन्टर भाडामा लिएर १३ महिनासम्म अभिनय सिकायौं । अस्मिता त्यो बेला ११ वर्षकी मात्र थिइन् ।’जीवन ‘जुनाः एक व्यथा’लाई ‘मोटिभेसनल’ सिनेमा मान्छन् । ‘हामीले पछाडि फर्केर हेर्यौं भने हामीले बाँचेको जिन्दगी र हाम्रा बाबुआमाले बाँचेको जिन्दगीको अन्तराल कति फरक छ । यही कुरा सिनेमा मा छ । हिजो आमाबाबुले छोराछोरीलाई ‘विवाह गर’ भनेर दबाब दिन्थे । अहिले बाबुआमाले ‘नगर’ भनेर भन्छन् । हिजो छोराछोरी रुन्थे, आज बाबुआमा । यो सिनेमा हेरेपछि बाबुआमाले ‘मैले छोराछोरीलाई यहाँनेर गल्ती गरेछु, यसो गर्नु हुँदैन रहेछ’ भनेर सम्झन्छन् । छोराछोरी चाहिँ आमाबाबुको क्रियाकलापलाई सम्झन्छन्’, सिनेमा बारे जीवन भन्छन् ।

जीवनका अनुसार सुटिङमा अस्मिताले कहिल्यै आँखामा ‘ग्लिसिरिन’ लगाइनन् । ‘सिनेमा मा बिहानदेखि बेलुकासम्म अस्मिता रोइरहनु पथ्र्यो । कोही पनि कलाकारलाई ग्लिसिरिन लगाएनौं । सबैले प्राकृतिक रुपमा नै अभिनय गर्नुभयो’, उनी सम्झन्छन् । झण्डै ४० वर्ष अघिको कथा भएकाले त्यो समयलाई सिनेमा मा म्याचिङ गर्न निकै गाह्रो भएको उनको अनुभव छ ।

दीपकप्रसाद घिमिरेको निर्माण र जीवन सेञ्चुरीको निर्देशन रहेको सिनेमा ‘जुनाः एक व्यथा’मा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत र खगेन्द्र न्यौपानेको अभिनय छ ।

सम्बन्धित समाचारसबै