सिनेसुत्र, बिराटनगर- गत हप्ता प्रदर्शनमा आएको नेपाली सिनेमा ‘एक्टर: टेक वन’ उत्कृष्ट प्रतिक्रियासहित दोस्रो हप्ता प्रवेश गरेको छ। वितरण कम्पनी डीसीएनका अनुसार यस सिनेमाले दोस्रो हप्ताको पहिलो दिन शुक्रवार १ सय दुई शो प्राप्त गरेको छ। यो आँकडा दोस्रो हप्ताका लागि उत्साहजनक हो। यसको पहिलो हप्ताको व्यापारबारे भने निर्माता मौन छन्।
यति बेला यो सिनेमा नेपालबाहिरका विभिन्न देशहरूमा पनि प्रदर्शनको क्रममा रहेको छ। हाल यसको रिलिजका लागि अभिनेता प्रदीप खड्का जापान पुगेका छन्। दुई दिनअघि जापानमा यसको प्रिमियर आयोजना भएको थियो, जहाँ सयौँ दर्शकसँग बसेर खड्काले सिनेमा हेरे। उनी जापानका विभिन्न सहरहरूमा आयोजना हुने शोहरूमा सहभागी भई अमेरिका प्रस्थान गर्नेछन्। खड्का सम्बद्ध कम्पनीले यस सिनेमाको अमेरिका र क्यानडाको वितरण अधिकार खरिद गरेको हो। यो सिनेमा युरोपमा समेत रिलिज हुँदैछ।
दर्शकबाट यस सिनेमाको अर्को भागको माग हुँदै आएको छ भने यसको क्लाइमेक्सलाई लिएर दश वर्षअघिको सिनेमा ‘लुट’सँग समेत तुलना गरिएको छ। यसका निर्देशक राजन भुसालले पनि उल्लेख्य तारिफ प्राप्त गरिरहेका छन्। प्रदीप खड्काले आफूलाई भर्सटाइल अभिनेताका रूपमा यस सिनेमा बाट पुनः प्रमाणित गरेका छन्। नव नायिका दिव्या रायमाझीलाई दर्शकले स्वागत गरेका छन् भने १० वर्षपछि सिनेमा मा देखिएका अभिनेता राजबल्लभ कोइरालालाई समेत उल्लेख्य रूपमा मन पराइएको छ। केही वर्षको अन्तरालमा सिनेमा मा देखिएकी अभिनेत्री आना शर्माको पनि तारिफ भइरहेको छ।
यस सिनेमामा प्रदीप, आना, दिव्या, राजबल्लभको साथमा दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ। सिनेमाको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यस सिनेमामा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की, र सह-निर्माता अनीश भुसाल रहेका छन्।




