‘तेरो फुटबलले मेरो इज्जत गयो ‘अञ्जिला’को मार्मिक टिजर सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर-  आगामी फागुन २९ गते रिलिज हुन लागेको सिनेमा ‘अञ्जिला’को टिजर सार्वजनिक भएको छ। टिजरमा महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवन संघर्ष देखाइएको छ। घरभित्रको संघर्षदेखि फुटबल कप्तानसम्मको यात्रा टिजरमा उजागर गरिएको छ।

टिजरमा संघर्षशील सपनाहरूको कथा भन्ने भाव व्यक्त गरिएको छ। रेडियोमा बज्ने आवाजमार्फत ‘अन्तर्राष्ट्रिय रूपमा पनि देशलाई गौरवान्वित गर्ने निष्कलङ्क क्षेत्र खेलकुद नै हो’ भन्ने सन्देशलाई स्थापित गरिएको छ।मुख्य भूमिकामा एञ्जिला आफैं देखिएकी छिन्, भने दयाहाङ राई र सृजना सुब्बा उनको माता–पिताको भूमिकामा छन्। सिनेमामा एञ्जिलाका पिता फुटबलको विपक्षमा र आमा समर्थनमा देखाइएका छन्। पिताले ‘तेरो फुटबलले मेरो इज्जत गयो’ भन्ने संवाद बोल्दा, आमाले ‘मलाई विश्वास छ, तँ फर्केर आउँदा तेरो पछि भीड लाग्नेछ’ भन्ने प्रेरणादायी शब्दहरू व्यक्त गरेकी छिन्।

विद्यालयको एक दृश्यमा एञ्जिलाले ‘अब फुटबल खेल्दिन भनेर बुबासँग पैसा मागेर ल्याएकी हुँ, मेरो ठाउँमा अरू कसैलाई खेलाउनु है’ भन्ने संवादले उनको फुटबलप्रतिको संघर्षलाई दर्शाएको छ।सिनेमाका निर्देशक मिलन चाम्स भन्छन्, ‘यो सिनेमा एञ्जिलाको वास्तविक जीवनमा आधारित छ। उनले विगतमा गरेको संघर्ष र त्यसबाट सिर्जिएको सफलताको कथा समेटिएको छ।’ सिनेमामा सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ जस्ता कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ। निर्माता प्रेम कुमार श्रेष्ठले पनि विशेष भूमिका निर्वाह गरेका छन्। ‘अञ्जिला’ मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो। सिनेमाका निर्माता प्रेम कुमार श्रेष्ठ तथा सह-निर्माताहरू टुबेन्द्र लिम्बु, विनोद अग्रवाल, र राजेश बगडिया रहेका छन्।

सिनेमाको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँ मा गरिएको हो। छायांकन सुदीप बराल ले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठ को रहेको छ। विनोद सुवेदी खत्री ले निर्माण नियन्त्रकको भूमिका निर्वाह गरेका छन्।फागुन २९ गते ‘अञ्जिला’ सिनेमाले दर्शकमाझ आफ्नो संघर्षको कथा लिएर आउँदैछ।

सम्बन्धित समाचारसबै