रिलिजको ७ घण्टामा ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ युट्युब ट्रेन्डिङमा

0 Shares

सिनेसुत्र, बिराटनगर- आगामी चैत २९ गते रिलिज हुने सिनेमा ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ ट्रेन्डिङमा परेको छ। सार्वजनिक भएको ७ घण्टामा गीत युट्युब ट्रेन्डिङमा परेको हो। गीतलाई १२ लाख बढी पटक हेरिएको छ।

गीतमा आशिष अविरल र अस्मिता अधिकारीको स्वर, आनन्द अधिकारीको शब्द र आशिष अविरलको संगीत छ। तराईको लोकेसनमा सेट बनाएर छायांकन गरिएको गीतमा सिनेमा का प्रमुख कलाकार प्रदीप खड्का, दिव्या रायमाझीको जोडीलाई कोरियोग्राफर कविराज गहतराजले उत्कृष्ट ढंगले प्रस्तुत गरेका छन्। सय बढी कोरसमा प्रदीप र दिव्याको बोन्डिङ राम्रो देखिएको छ।प्रदीपलाई सम्भवत पहिलोपटक दर्शकले कोरससहित नृत्य गरेको देख्दैछन्। अघिल्ला सिनेमा हरुमा प्रदीपलाई दर्शकले कमैमात्र कम्मर मर्काएर नाँचेको देख्न सकिन्छ। कोरस र कोरियोग्राफरले पनि गीत अनुसार राम्रो मेहनत गरेका छन्। दरबारीया शैलीमा तयार पारिएको सेटका हरेक प्रोपर्टीलाई उत्कृष्ट ढंगले सजाइएको छ। कोरियोग्राफी, कोरस र कलाकारको प्रस्तुती हेर्दा यसको मेकिङ शैली अन्तर्राष्ट्रियस्तरको देख्न सकिन्छ। कलाकार र कोरसको पहिरनलाई सेटको थिम अनुसार प्रस्तुत गरिएको छ।

निर्माता विशाल चौलागाईंका अनुसार गीतका लागि भारतबाट सेटसहित कामदार ल्याइएको थियो। ‘तराईंको लोकेसनमा सिनेमा खिचिएकाले त्यहाँको माहोलमा सेट तयार गरेका हौं। सेट निर्माणमा कुनै पनि कञ्जुस्याई गरेका छैनौं। यो गीत छायांकन हुँदा झण्डै ६ हजार स्थानीय भेला भएका थिए। क्यामराको फ्रेममा स्थानीय पर्ने सम्भावना उत्तिकै थियो। तर स्थानीयलाई फ्रेममा नपारीकन निकै चुनौतीपूर्ण रुपमा यो गीतको काम पुरा गर्यौं’, विशालले भने।बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा सिनेमा का कलाकारहरु प्रदीप र दिव्यासँगै प्रमोद अग्रहरि, सुपुष्पा भट्ट, दिव्य देव, बाल कलाकारद्वय आध्या लामिछाने र सुप्रोल बुढाथोकी (अनमोल) को अभिनय छ। केपी सिनेमास् र पुरुषोत्तम प्रधान सिनेमास्को व्यानरमा निर्माण भएको सिनेमा मा कृषा चौलागाईंको निर्देशन छ।

सिनेमा मा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईको अभिनय छ।

सिनेमा मा बाल कलाकारका रुपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्या लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले समेत अभिनय गरेका छन्। सिनेमा ‘ऐंचो पैचो’बाट निर्देशनमा पाइला चालेकी कृषाले यसअघि ‘इन्साफ’, ‘कसम हजुरको’, ‘के म तिम्रो साथी बन्न सक्छु’ र ‘पलास’ निर्माण गरिसकेकी छन्।

विशाल चौलागाईं निर्माता रहेको सिनेमा मा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, काला चरनको पाश्र्व संगीत, रेनिस फागोको कलर ग्रेडिङ, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ। सिनेमा आरआर सिनेमास् ले वितरण गर्दैछ।

सम्बन्धित समाचारसबै