सिनेसुत्र, बिराटनगर- सन् २०१९ मा भ्यालेन्टाइन डे मै हलमा प्रदर्शनमा आएको सिनेमा ‘बुलबुल’ एमएसएम एपमा भ्यालेन्टाइन डे कै दिन २०२५ को फेब्रुवरी १४ मा रिलिज हुने भएको छ।
एमएसएम एपमा विश्वका धेरै देशबाट मोबाइल, गुगल, टीभी, एन्ड्रोइड, अमेजन फायर स्टिक टिभी, सामसुङ टीभी, एलजी टीभी, एप्पल टीभी, हिसेन्स टीभी, भिडियो टीभी, रोकु टीभी एप र कम्प्युटरमा पनि उपलब्ध छ। यसैले हरेक वर्गका दर्शकले आफूले मनपर्ने सिनेमा सजिलै हेर्न पाउँछन्।
सिनेमाका निर्माता अविरल थापाले पहिले हलमा हेर्न नपाएका र नभ्याएका दर्शकले देशभित्र र विदेशबाट समेत ‘बुलबुल’ हेर्न अत्याधिक माग गरेपछि एमएसएम एपमार्फत पुनः प्रदर्शनमा ल्याउन लागेको बताए।
कहाँबाट कतिले सिनेमा हेरे र कति आम्दानी भयो भन्ने सबै सिनेमा निर्माता आफैँले पारदर्शीरुपमा हेर्न सकिने हुँदा सिनेमा निर्माताका लागि र दर्शकको लागि पनि घरमै बसीबसी विभिन्न प्लेटफर्ममा आफ्नो समयअनुसार सिनेमा हेर्न पाउनु आफैँ राम्रो भएको थापाले बताए।
स्वस्तिमा खड्काले यो सिनेमामा उत्कृष्ट अभिनय गरेबापत सार्क फिल्म फेस्टिभललगायत अन्य घरायसी फेस्टिभलहरूमा साथै राष्ट्रिय सिनेमा पुरस्कार प्राप्त गरेकी थिइन्।
निर्देशक विनोद पौडेलले पनि उत्कृष्ट निर्देशकको पुरस्कार हात पारेका थिए। यो सिनेमाले नेपालको तर्फबाट ९२ औं अस्कर फिल्म अर्वाडमा पनि प्रतिनिधित्व गरेको थियो। संसारका कैयन अन्य सिनेमा महोत्सवमा पनि छानिएको थियो।
सिनेमामा अभिनेता मुकुन भुषाल, लक्ष्मी बर्देवा, दीपक क्षेत्रीलगायतको पनि अभिनय रहेको छ। मुकुनले २०१९ मा यही सिनेमाबाट आफ्नो फिचर सिनेमामा डेब्यू गरेका थिए।
यही टिमले बनाएको हरिवंश आचार्यको प्रमुख भूमिका रहेको सिनेमा ‘भूठान’ २०८२ वैशाख १२ मा प्रदर्शनमा आउँदै छ।




