सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा “आउटलः दफा २१९” नामकै कारण चर्चामा छ, किनकि यस अघि यस नाममा कुनै सिनेमा बनेको छैन। यस सिनेमाको रिलिज मिति फागुन २९ गते तय गरिएको छ। मंगलबार आयोजित सिनेमा पत्रकार भेटघाट कार्यक्रममा यसका मुख्य नायक सुशील श्रेष्ठले यही कुरा उठाए। उनले भने, “आउटल नेपाली सिनेमा क्षेत्रका लागि नयाँ नाम हो। जब देशको कानुनले न्याय दिन सक्दैन, जब शक्ति र सत्ताको दममा जे पनि हुन थाल्छ, त्यसपछि एक जनाको व्यक्तिको जन्म हुन्छ र उसले कानुन हातमा लिएर न्याय दिन थाल्छ। यो सिनेमा हामीले मनोरञ्जनका लागि मात्र बनाएका होइनौं, यसबाट हामीले समाजमा सकारात्मक प्रभाव पार्न चाहेका छौं। यो सिनेमा रिलिज भएपछि दर्शकको मनमा एक प्रकारको छाप बस्छ भन्ने लागेको छ।”
के सुशीलले यो सिनेमा नकारात्मक भूमिका निर्वाह गरेका हुन्? यसको उत्तरमा नायक सुशील श्रेष्ठले भने, “कोही मान्छे पनि यत्तिकै नराम्रो हुँदैन। उसलाई परिस्थिती र समयले नेगेटिभ बनाउने हो। यस सिनेमा मैले निर्वाह गरेको पृथ्वीजंग थापाको क्यारेक्टर कति कुरामा राम्रो र कति कुरामा नराम्रो पनि छ। उसलाई परिस्थितीले कानुन भन्दा बाहिर जाने अवस्था बनाउँछ। यसको कथा यही सारमा छ।”
यस सिनेमा सुशीलले भिन्न शैलीको एक्सन गरेका छन्। तर, एक्सन गर्न सहज नभएको उनको भनाइ छ। सुशील भन्छन्, “एक्सन गर्न निकै नै गाह्रो रहेछ। म छायांकनको क्रममा निकै नै थकित हुन्थेँ। कट भन्ने वित्तिकै निन्द्रा लाग्थ्यो। यो सिनेमा तयारीका क्रममा मेरो हातमा पनि गहिरो चोट लाग्यो, जुन अझै ठिक भएको छैन।”
सिनेमामा सुशीलको हातमा आगो बालेर दृश्य खिचिएको छ। यस बारेमा सुशीलले भने, “मैले पहिले राजेन्द्र खड्गी, निखिल उप्रेती दाईहरुले हातमा आगो लगाएर स्टन्टको दृश्य दिएको हेरेको थिएँ। त्यो दृश्य हेर्दा जती सहज लाग्छ, गर्दा निकै गाह्रो हुन्छ। तर, नयाँ अनुभव थियो रमाइलो भयो। दर्शकलाई पर्दामा हेर्दा पनि मज्जा आउँछ जस्तो लाग्छ।”विशेष गरी एक्सन सिनेमामा चुरोट पिउनुपर्ने, महिलाहरुलाई होच्याएर बोल्नुपर्ने कारण के हो भन्ने प्रश्नमा सुशीलले भने, “यो सिनेमा महिलाहरुलाई माथि उठाउने काम गरेको छ। यो सिनेमा महिलाहरुलाई नराम्रो देखाएको छैन। महिलाहरुमा कति शक्ति छ र उहाँहरुलाई सम्मान गर्नुपर्छ भनेर देखाइएको छ।”
सुशील सिनेमा “आउटलः दफा २१९”को ट्रेलरले दर्शकबाट पाएको पोजिटिभ प्रतिक्रियाले उत्साहित छन्। साथमा, मिडियामा हिजोआज आफ्नो बिषयमा आउने हेडलाइन्स फेरिएकोमा पनि उनी दंग छन्। उनले भने, “पहिले पहिले मेरो सिनेमा रिलिज हुने बेलामा फ्लप सुशील अब हिट होलान् त? यो सिनेमा चल्ला त सुशीलको स्टारडम? जस्ता हेडलाइन्स आउँथे। तर, अहिले फेरिएको छ। म यहाँ नै सफल भइसकेको छु जस्तो लागेको छ।”
विक्की महर्जनको निर्देशनमा अमित अग्रहरिको लगानी रहेको यो सिनेमा फागुनको २९ गतेबाट रिलिजमा आउँदैछ। सिनेमा मेकिङलाई लिएर अहिले चर्चा निकै छ। सुशील यो सिनेमा बाट बलियो कमब्याक गर्नेमा ढुक्क छन्।
ट्रेलर हेर्नुहोस :