सिनेसुत्र, बिराटनगर- धरानको ऐतिहासिक बुढासुब्बा मन्दिर प्राङ्गणमा सिनेमा ‘पहिचान’ को भव्य शुभ मुहूर्त सम्पन्न भएको छ। मुहूर्त समारोहमा पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष सन्तोष काफ्लेले परम्परागत रूपमा नरिवल फुटाएर शुभारम्भ गरे भने याकथुङ चलचित्रकर्मी सङ्घका अध्यक्ष नवीन मेन्याङ्वोले शुभ मुहूर्त क्ल्याप बजाउदै चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले क्यामरा स्विच अन संगै एक्सन कट गरेका थिए । मुख्य कलाकार धिरेन शाक्य र करिष्मा मानन्धरले मुहूर्त सट दिँदै सिनेमाको औपचारिक सुरुवात गरेका थिए। निर्देशक भीम लामाको नेतृत्वमा बन्न लागेको यो सिनेमा पूर्वी नेपालका विभिन्न रमणीय स्थानहरूमा छायाङ्कन गरिने जानकारी दिइएको छ।
निर्देशक भीम लामाले ‘पहिचान’ ऐतिहासिक सिनेमा बन्ने विश्वास व्यक्त गर्दै कथाको माग अनुसार नै कलाकार छनोट गरिएको खुलाए , अगाडी लामा भन्छन: पहिचान भनेको के हो? के यो भाषा हो? संस्कार हो? भूगोल हो? कि राजनीति मात्र? कसैका लागि पहिचान प्रेमको प्रश्न हो, त कसैका लागि अस्तित्वको लडाई तर पहिचानको नाममा राजनीति खेलिन्छ, पहिचानको नाममा लाठी चार्ज गरिन्छ, अनि पहिचानकै नाममा सहमति खोजिन्छ। आज पनि कैयौ जनता पहिचानको खोजीमा छन पहिचानको लडाई’ कुनै नारा होइन, यो हाम्रो कथा हो। हामी यो सिनेमा मार्फत नेपाली समाजको वास्तविकता देखाउन चाहन्छौं— संघर्ष, भावना, र अस्तित्वको खोजी हो पहिचान भन्दै प्रस्ट पारे
मुहूर्त समारोहमा सिनेमाकर्मी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा प्रमुख अतिथि रहेका चलचित्रकर्मी महासङ्घ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले अभिनेता धिरेन शाक्य र अभिनेत्री करिष्मा मानन्धरलाई पूर्वमा स्वागत गरेका थिए । अभिनेता धिरेन शाक्यले सुरुदेखि नै ‘पहिचान’ टिमसँग जोडिएको बताउँदै उत्कृष्ट नतिजा दिन सबैले मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरे। अभिनेत्री करिष्मा मानन्धरले पूर्वेली दर्शकसँग नजिकिने अवसर प्राप्त भएकोमा उत्साहित रहेको बताइन्।
धिरेन शाक्य र करिष्मा मानन्धरका साथै सिनेमामा द्वन्द्व निर्देशक तथा कलाकार राजेन्द्र खड्गी, प्रेम सुब्बा, सुरवीर पण्डित, प्रशान्त तामाङ, किशोर सम्बाहाम्फे, रामजी विष्ट, रोशन शर्मा, शर्मिला राई, नव नायिका जेनि घिसिङ लगायतका कलाकारको अभिनय रहनेछ।
‘भिम लामा फिल्म्स’ को ब्यानरमा निर्माण हुने यस सिनेमाका निर्मातामा भिम लामा, रामजी बिस्ट, छिरिङ लामा र उमेश तामाङ रहेका छन्। निर्देशक भीम लामाले यसअघि ‘माटो’, ‘भेडिगोठ’ जस्ता सिनेमाहरू निर्माण गरिसकेका छन् भने ‘फेक फ्रेन्ड’, ‘गोल’, ‘सरप्राइज’, ‘नासो’ र ‘लिलामे माइला’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन्।
सिनेमा ‘पहिचान’ ले नेपाली सिने क्षेत्रमा नयाँ र गहकिलो सन्देश दिन सक्ने विश्वास गरिएको छ।

