कर्णालीलाई अन्तर्राष्ट्रिय सिनेमा गन्तव्य बनाउन म प्रतिबद्ध छु: अभिनेता प्रदीप खड्का

0 Shares

सिनेसुत्र, बिराटनगर- दोस्रो कर्णाली अन्तर्राष्ट्रिय सिनेमा महोत्सवको दोस्रो दिनको कार्यक्रम कर्णाली प्रदेशको दैलेख जिल्लाको गुराँस गाउँपालिकामा भव्य रूपमा सम्पन्न भएको छ। नेपाली सिनेमाको प्रवर्द्धन, विकास, र सिनेमा पर्यटनको सम्भावनालाई उजागर गर्न कर्णाली क्षेत्रलाई मुख्य केन्द्रबिन्दु बनाउँदै महोत्सव आयोजना गरिएको हो। यस अवसरमा सहरदेखि गाउँसम्म सिनेमा र पर्यटन जोड्ने विभिन्न गतिविधिहरू सञ्चालन गरिए।

कर्णालीमा पर्यटन विकास र सिनेमासँग सम्बन्धित गतिविधिहरू बढाउन यस महोत्सवले विशेष पहल लिएको छ। महोत्सवमा प्रमुख अतिथिका रूपमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीको उपस्थिति रहेको थियो।

यस क्षेत्रको भौगोलिक बनावट र पर्यटकीय सम्भावनालाई हेर्दा सिनेमा छायाङ्कन स्थलका रूपमा विकसित गर्न सकिने सम्भावनाबारे छलफल गरिएको थियो। महोत्सवमा विशेष अतिथिका रूपमा सिनेमा विकास बोर्डका अध्यक्ष दिनेश डिसी, चर्चित अभिनेता प्रदीप खड्का, सिनेमा ‘प्रकाश’ र ‘पुजार सार्की’ का लेखक तथा कर्णालीमा छायाङ्कन हुने नयाँ सिनेमा ‘२६ करोड’ का निर्देशक विकास सुवेदी, पालिका अध्यक्ष टोप बहादुर बिसी, साहित्यकार डा. महेन्द्र कुमार मल्ललगायत प्रमुख व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सिनेमा पर्यटनका सम्भावनाहरूमा गहन छलफल गर्दै अभिनेता प्रदीप खड्काले गुराँस क्षेत्रमा सिनेमा पर्यटनको विकासका लागि सिनेमा निर्माणको महत्त्वलाई जोड दिए। उनले कर्णालीलाई सिनेमाका माध्यमबाट विश्वव्यापी बनाउने अभियानमा आफू सद्भावना दूतका रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रका उत्पादनलाई ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औँल्याए।सिनेमा विकास बोर्डका अध्यक्ष दिनेश डिसीले कर्णाली र यसको आसपासका क्षेत्रमा सिनेमा विकासका लागि ठोस कदम चाल्न आवश्यक रहेको बताउँदै, यस किसिमका छलफलहरूले महत्त्वपूर्ण नतिजा निकाल्ने विश्वास व्यक्त गरे। साथै, सिनेमा विकास बोर्डको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।

महोत्सवमा सिनेमा पर्यटनसँगै कृषि प्रवर्द्धनसम्बन्धी संवाद कार्यक्रम पनि आयोजना गरिएको थियो। मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी प्रमुख भरत ढकाल, मुक्तिनाथ विकास बैंकका सञ्चालक नारायण कुमार श्रेष्ठ, स्थानीय कृषकहरू, तथा सरोकारवालाबीच स्थानीय सरकारको भूमिका, सङ्घीय सरकारको योगदान, र कृषि क्षेत्रमा सहकार्य तथा लगानीका विषयमा छलफल भयो।

छलफलमा मुक्तिनाथ ग्रुप कम्पनीले कृषि क्षेत्रमा सहकार्य र लगानी गर्न इच्छुक रहेको जनाएको थियो। गुराँस गाउँपालिकाका अध्यक्ष टोप बहादुर बिसी र उपाध्यक्ष शिवा खड्काले सिनेमा र कृषि प्रवर्द्धनका लागि पालिकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

महोत्सवका निर्देशक चक्रबहादुर चन्दले गुराँसलाई सिनेमा पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको बताए। पालिका अध्यक्ष बिसीले गुराँसको समग्र विकासका लागि सहकार्य आवश्यक रहेकोमा जोड दिए।यस महोत्सव अन्तर्गत आगामी चैत्र १६ गते काठमाडौंको नेपाल पर्यटन बोर्डमा ‘कर्णाली अन्तर्राष्ट्रिय सिनेमा पर्यटन तथा जलवायु अवार्ड समारोह’ हुनेछ भने चैत्र ३० गते मुगुको रारा ताल प्राङ्गणमा ‘रारा सिनेमा पर्यटन तथा जलवायु समिट’ आयोजना हुनेछ।

महोत्सवले जलवायु परिवर्तन जस्तो ग्लोबल समस्यालाई कर्णालीको सन्दर्भमा उठान गरेको छ। महोत्सवले जलवायु संरक्षणका लागि सिनेमा क्षेत्रमार्फत जनचेतना फैलाउने महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

यस महोत्सवले कर्णालीको पर्यटन, कृषि, र सिनेमा विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ।

सम्बन्धित समाचारसबै