सिनेसुत्र, बिराटनगर- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा ‘अञ्जिला’ हेर्न दोस्रो शनिवार जनसागर उर्लिएको छ । निर्देशक मिलन चाम्सका अनुसार, पहिलो शनिवारको तुलनामा दोस्रो शनिवारको व्यापार झन्डै दोब्बर भएको छ । देशभरका हलहरूमा दर्शकहरूको उत्साहजनक सहभागिता हेर्दा यस सिनेमाको लोकप्रियता दिनानुदिन अत्यधिक बढ्दै गएको प्रस्ट भएको छ ।
शनिवार निर्देशक चाम्स, निर्माता तथा कलाकार प्रेमकुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल र एन्जिलाको आमाको भूमिकामा अभिनय गरी व्यापक प्रशंसा पाइरहेकी सिर्जना सुब्बासहितको टोलीले काठमाडौंका विभिन्न हलहरूमा दर्शकसँग साक्षात्कार गरेका छन् । काठमाडौंको अष्टनारायण हलमा एक हजार सिट क्षमताको हलमा दिनभर हाउसफुल भएको थियो भने देशभरका सबै शोहरू हाउसफुल भएका छन् । रिलिजको पहिलो दिन १०५ शो प्राप्त गरेको सिनेमाले दोस्रो हप्ताको शनिवार २०० भन्दा धेरै शो प्राप्त गरेको थियो ।
सिनेमाको सफलताबाट पुलकित निर्देशक चाम्सले भने, “सिनेमा निर्देशनको मेरो करियरमा यति धेरै खुसी कहिल्यै भएको थिइनँ । ‘अञ्जिला’लाई दर्शकहरूले यति धेरै माया गर्नुहुन्छ भन्ने मैले कल्पना गरेको थिइनँ । पहिलो दिनदेखि नै राम्रो प्रतिक्रिया सहित उत्साहजनक व्यापार भइरहेको भए पनि दोस्रो हप्ताको शनिवारको शो सङ्ख्या र बम्पर व्यापारले उत्साहित बनाएको छ । सिनेमा हेरेर दर्शकहरू भावुक हुनुभएको छ, र यो सिनेमाले उनीहरूलाई प्रेरित गरिरहेको देख्दा हाम्रो टिमको मेहनत सार्थक भएको अनुभूति भइरहेको छ ।” चाम्सले दर्शकको लहर छिट्टै रोकिने सम्भावना नरहेको बताए ।
टिकटक, फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालहरूमा पनि ‘अञ्जिला’को व्यापक प्रशंसा भइरहेको छ, जसले सिनेमाको लोकप्रियतालाई अझ बढाइरहेको छ । यस सिनेमाले नेपाली सिनेमा उद्योगमा नयाँ कीर्तिमान स्थापित गर्ने सम्भावना देखाएको छ ।
यो सिनेमा प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । यस सिनेमामा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन् । सिनेमामा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनिल थापाले कोचको भूमिका निभाएका छन् । साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।
