‘होस्टेल ३’ का लेखक माधव शर्मा भन्छन्: सिनेमा हिट बनाउन कथा मात्र होइन, शैली पनि महत्वपूर्ण हुन्छ

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको सिनेमा ‘होस्टेल ३’ को पटकथा र संवाद लेखेका छन्, जसले कलेज जीवनका विभिन्न पक्षहरूलाई उजागर गरेको छ । यस सिनेमामा उनी लेखक मात्र होइनन्, एशोसियट निर्देशक पनि हुन् ।

कलेज जीवनका कथाहरूमा केन्द्रित ‘होस्टेल’ शृङ्खलाको तेस्रो संस्करण ‘होस्टेल ३’ ले फागुन २३ गतेदेखि विश्वभरका नेपाली दर्शकमाझ प्रदर्शनमा आएको थियो । हालसम्म पनि नेपाल तथा ओभरसिजमा प्रदर्शनमा रहेको यस सिनेमाले कलेज जीवनका रमाइला क्षणहरू मात्र होइन, तिनका चुनौतीहरूलाई पनि पर्दामा उतारेको छ ।

यसअघि ‘ए मेरो हजुर ४’ र ‘उपहार’ जस्ता सिनेमामा लेखन टिममा काम गरिसकेका शर्माले ‘होस्टेल ३’ को लेखनमा ती अनुभवहरूले धेरै मद्दत पुर्‍याएको बताए । उनका अनुसार, विगतमा लेखिएका सिनेमा पनि व्यावसायिक सिनेमा नै हुन्, दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले लेखिएका हुन्, र यो सिनेमा पनि दर्शकलाई मनोरञ्जन दिन नै लेखिएको हो । मनोरञ्जनको साथमा केही न केही सन्देश रहेको उनले बताए ।नेपाली सिनेमा को सफलताका लागि कथाको भूमिकाबारे शर्मा भन्छन्, “सिनेमा बन्नका लागि सबैभन्दा ठुलो कुरो भनेकै कथा हो । र, त्यो कथा भन्ने शैली कस्तो हुन्छ त्यो नै सबैभन्दा ठुलो चुनौती हो । नेपाली सिनेमा मा पनि कथा भन्ने शैली नै सबैभन्दा ठुलो चुनौती हो । कथा भन्ने शैली प्रस्ट भएमा दर्शकले बुझेमा र त्यो कथालाई आफ्नो जस्तै मानेमा अथवा समसामयिक भएमा दर्शकहरूले अझै बढी अपनत्व लिन्छन् ।”

नयाँ लेखकहरूका लागि सल्लाह दिँदै शर्माले अध्ययन, व्यवहारिक ज्ञान, सिनेमा हेर्ने बानी, आफ्नो भाषा र संस्कृतिलाई ध्यानमा राख्नुपर्नेमा जोड दिए । उनका अनुसार, यहाँ कस्तो परिवेशको सिनेमा हरू बढी चल्छ, त्यसैलाई प्राथमिकता राखेर लेख्यो भने अझै बढी दर्शकको माया पाउन सकिन्छ ।

‘होस्टेल ३’ को पटकथा लेख्दा उनले केही चुनौतीहरू सामना गरेका छन् । “यो आफैमा हिट सिरिज थियो । मैले लेखिरहँदा ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’को साखलाई तल झर्न दिनुहुन्नथ्यो । अनि यो सिनेमा लेखिरहँदा यति धेरै पात्रहरू थिए, हरेक पात्रहरूलाई स्थापित र त्यसको ल्यान्डिङ गर्नु अनिवार्य थियो । त्यो नै एकदमै चुनौतीपूर्ण थियो” उनले थपे, “यदि हेर्नुभयो भने तपाईँ आफैलाई थाहा होला यो एक अलिकति सस्पेन्स थ्रिल सिनेमा पनि हो । र एउटै दृश्य बारम्बार ल्याउनु पनि थियो, जुन दर्शकलाई अस्वाभाविक नलाग्ने गरी बुझाउन एकदमै कठिन थियो । त्यो कुरा कसरी स्वाभाविक बनाउन सकिन्छ भनेर स्क्रिनप्ले बुन्नु नै सबैभन्दा चुनौती थियो ।”सशान कँडेलले निर्देशन गरेको ‘होस्टेल ३’मा ‘कुलब्वाय’को नामले परिचित पारस बम ठकुरी, रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, समा पराजुली, सन्तोष बानियाँ, उमर खान, रोहन श्रेष्ठ, आशिष पुरुष लगायतका नयाँ पुस्ताका प्रतिभाशाली कलाकारहरूको अभिनय रहेको छ । सिनेमा ले कलेज जीवनका वास्तविक अनुभवलाई दर्शकहरूसामु प्रस्तुत गरेको छ ।

सिनेमा का निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शङ्कर कोइराला कार्यकारी निर्माता हुन् भने कोसिस राज क्षेत्री लाइन प्रोड्युसर हुन् ।

सम्बन्धित समाचारसबै