‘वसन्त’ ट्रेलरले दर्शकको मन जित्दै युट्युब ट्रेन्डिङमा : प्रकाश सपुतको निर्देशन र स्वस्तिमाको अभिनयको चर्चा

0 Shares

सिनेसुत्र, बिराटनगर-  प्रकाश सपुतको निर्देशनमा बनेको पहिलो सिनेमा ‘वसन्तको ट्रेलर ट्रेन्डिङमा उक्लिएको छ । सार्वजनिक भएको २ दिन नबित्दै सिनेमाको ट्रेलरले ४ लाख बढी भ्युज पाएर युटुबमा मुभी सेक्सनको २ नम्बर ट्रेन्डिङमा रहेको छ । यसले सिनेमाको हाइप पनि बढेको छ ।

सार्वजनिक ट्रेलरले दर्शकको मन जितिरहेको कमेन्टबक्समा प्राप्त प्रतिक्रियाबाट बुझ्न सकिन्छ । अधिकांशले सिनेमाले नेपाली समाजको यतार्थ चित्रण गरेको प्रतिक्रिया दिएका छन् । ट्रेलर सार्वजनिक भएपछि युट्युबको ट्रेन्डिङमा समेत उक्लेको थियो ।

यो सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको राम्रो साथ पाइरहेका हुँदा ट्रेन्डिङको शिर्ष स्थान तर्फ विस्तारै पाइला बढाउँदै गएको छ । हालसम्म सिनेमाको ट्रेलरले ४ लाख ३९ हजार भ्युजसहित २४ हजार लाइक र तीन हजार ४ सय बढि प्रतिक्रिया प्राप्त गरेको छ । सिनेमाको ट्रेलर हेरेका अधिकांश दर्शक सिनेमा हेर्न व्यग्र प्रतिक्षामा रहेको प्राप्त प्रतिक्रियाबाट बुझिन्छ ।सिनेमाको ट्रेलरको कमेन्टबक्समा अमृत परियारले लेखेका छन्, ‘मलाई लाग्छ यो सिनेमाले मान्छेले मान्छेलाई हेर्ने नजरप्रति केही हदसम्म परिवर्तन हुन सहयोग गर्नेछ भनेर । शुभकामना सम्पूर्ण टिमलाई ।’ अर्का एक व्यत्ति सन्देश बिकले लेखेका छन्, ‘एउटा सिनेमामा यति धेरै कथा समावस रहेछ यो ट्रेलर हेर्दा गुजबम आयो, धेरै शुभकामना प्रकाश दाजु ।’

यता अर्का कमेन्टर राम प्रसादले लेखेका छन्, ‘एक एक डाइलगमा एउटा कारण लुकेको छ । हलसम्म तान्ने नै भयो । दिमाग नै हल्लाउँछ त । वेस्ट अफ लक वसन्त टीम, धेरै बधाई छ । यसपटक फेरि नयाँ अन्दाज को सिनेमा हेर्न पाइने भयो ।’ यता अर्का फ्यान मदन बराइली लेख्छन्, ‘साच्चिँकै समाज सुधार हुनुपर्छ भन्ने सोच राख्नुहुने कुनैपनी जातको मान्छेले यो सिनेमा अवस्य हेर्ने छ, म पनि परिवारसँग गयर हेर्ने हो, सिनेमा गजब बनेको जस्तो लाग्यो सम्पुर्ण टिमलाई अग्रिम शुभकामना ।’

सिनेमाको ट्रेलरको कमेन्टवक्समा यस्तै तीन हजार बढि प्रतिक्रिया हेर्न सकिन्छ । यति मात्रै होइन् दर्शकले सिनेमाका मुख्य कलाकार तथा डेव्यु निर्देशक प्रकाश सपुत, अभिनेत्री स्वस्तिमा खड्काको पनि उत्तिकै तारिफ गरेको प्रतिक्रिया भेटिन्छन् । यसैले पनि वसन्त यसवर्षकै प्रतिक्षित सिनेमा मध्ये एक हो भन्नेमा दुईमत देखिदैन् ।सिनेमामा प्रकास सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय रहेको छ ।

गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो । गायक तथा अभिनेता प्रकाश सपुतको डेव्यु निर्देशकिय सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् । ट्रेलर हेर्नुहोस :

 

सम्बन्धित समाचारसबै