‘कमेडी दरबार’ असार १४ गते देखि प्रसारणमा | बिक्कीअग्रवालले निर्देशन गर्ने शोमा आफु नदेखिने

0 Shares

बिराटनगर | कमेडी शो ‘कमेडी दरबार’ असार १४ गते शुक्रवारदेखि प्रसारणमा आउने भएको छ । बिक्की अग्रवाल र श्रद्धा प्रसाईको संयुक्त निर्देशन रहने ‘कमेडी दरबार’ प्राइभ टाइम टेलिभिजनमा प्रत्येक शुक्रवार राति ९ बजे र ओएसआर डिजिटल मार्फत युटुबबाट प्रसारण हुने छ ।
नेपालमा केहि समय यता कमेडी शो रुचाउने दर्शक ह्वातै बढेको छ । नेपालमा कमेडी शो को ट्रेन्ड निर्देशक बिशाल भण्डारीले ल्याएको हो भन्दा फरक नपर्ला । उनले कमेडी च्याम्पियन जस्तो शो लाइ आज एउटा उचाईमा पुगाएका छन् | अहिले आउन लागेको कमेडी शो ‘कमेडी दरबार’ का निर्देशक बिक्की अग्रवाल र श्रद्धा प्रसाई पनि सोहि कमेडी च्याम्पियन रियालिटी शो बाट उदाएका हुन् ।

 

आइतवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै ‘कमेडी दरबार’ शोको फस्टलुक टीजर सार्वजनिक गरिएको छ । टीजरमा अभिनेत्री गौरी मल्ल महारानीको भूमिकामा र उनीसँगै कलाकार विजय बराल महाराजको भूमिकामा देखिएका छन् । त्यस्तै अभिनेत्री नम्रता सापकोटा, नम्रता श्रेष्ठ, पबित्रा शाकी (मिस पबी) सँगै कमेडीयनहरु हिमेश पन्त, पवन खतिवडा, उत्सव सापकोटा, सुन्दर खनाल लगायतलाइ पनि ‘कमेडी दरबार’ देखन पाइने छ ।

कार्यक्रममा निर्देशक तथा कलाकार दीपाश्री निरौला, कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, प्राइम टाइम टेलिभिजनका ऋषि धमलालगायतले कार्यक्रम सफलताको शुभकामना दिएका थिए ।

कमेडीको दुनियामा अर्को नयाँ शो थपिँदा आफूलाई निकै खुसी लागेको दीपाश्रीले बताइन् । उनले बजारमा अझै फरक सोचका साथ यस्तै शोहरु आउनु पर्ने धारणा राखिन् ।

विशाल भण्डारीले आफूहरुसँगै काम गरेका भाइहरुले नयाँ शो ल्याउँदा सबैभन्दा खुसी आफूलाई लागेको भन्दै शुभकामना दिए ।

पत्रकार ऋषि धमलाले ‘कमेडी दरबार’ लाई प्राइम टेलिभिजनबाट प्रसारण गर्न पाउनु आफ्नो लागि खुशीको कुरा भएको भन्दै भोलिका दिनमा टेलिभिजनमा अन्य यस्तै फरक शो र दर्शकको मनमा बस्ने शो ल्याउने जानकारी दिए ।

कार्यक्रममा प्राइम टाइम टेलिभिजनका सिईओ विकाश लामिछाने, प्रवन्ध निर्देशक एलिना गौतम, ओएसआर डिजिटलका ओम अग्रवाल, सुमित्रा थापाको पनि उपस्थिति थियो ।

 

यसपटक बिक्कीले शोको निर्देशन मात्र गर्ने र शोमा नदेखिने जानकारी गराए । उनले भने – ‘म खासमा शोमा देखिने खालको मान्छे होइन, मलाई पर्दा पछाडि नै बसेर काम गर्न अझ मज्जा आउँछ । त्यसैले यो पटक म शोको निर्देशन मात्र गर्ने सोचमा छु ।’

यस शोको आर्टिष्ट म्यानेजमेन्ट तथा मिडिया संयोजनको भूमिकामा गोपिकृष्ण चापागाईं रहेका छन् ।
क्रिएटिभ प्रमुखमा विकाश अर्याल रहेका छन् भने प्रोडक्सनमा आयुष लुईँटेल छन् ।

सम्बन्धित समाचारसबै