सिनेसुत्र, बिराटनगर- सिनेमा ‘अभिमन्यु’ को शुभमुहूर्त गरिएको छ। निर्माणपक्षले आज कीर्तिपुरमा सिनेमाको पूजा गर्दै शुभमुहूर्त गरेको हो। शुभमुहूर्तमा सिनेमाका अधिकांश मुख्य कलाकारको उपस्थिति थियो। मुहूर्त सट लिइएसँगै सिनेमाको छायांकन सुरु भएको छ।
‘अभिमन्यु’ मा गौमाया गुरुङ, सरिता गिरी, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठलगायत कलाकार मुख्य भूमिकामा छन्। निर्माता विनोद पौडेलले सिनेमाको पात्रअनुसार बलियो लाइनअप तयार गरिएको बताएका छन्।
सर्वकालीन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ का निर्माता पौडेलका अनुसार ‘अभिमन्यु’ आगामी भदौ २७ गते रिलिज हुनेछ। सिनेमाको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ। पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्ष सिनेमाको मुख्य कथा भएको बताइएको छ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण हुने सिनेमा ‘अभिमन्यु’ लाई सुशान्त गौतमले निर्देशन गर्नेछन्। यो उनको डेब्यु निर्देशन हो। मुकेश खनालको लेखन रहेको सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा हुन्। थापाले यसअघि सिनेमा ‘बाटो : रोड टु डेथ’ निर्देशन गरेका थिए।
विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेको सिनेमाका रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेका छन्। ‘अभिमन्यु’ मा शरद महतोको डिओपी रहनेछ। यो सिनेमा विश्वभर एक साथ हिन्दी र नेपाली भाषामा रिलिज हुनेछ। 


