‘जनै हराएको बाहुन’को शुभमुहूर्त सम्पन्न, मिरुना र सुशांकले दिए मुहूर्त सर्ट

0 Shares

सिनेसुत्र, बिराटनगर- सिनेमा ‘जनै हराएको बाहुन’ को शुभमुहूर्त गरिएको छ। काठमाडौंको बूढानीलकण्ठमा आज बिहान सिनेमाको शुभमुहूर्त गरिएको हो। शुभमुहूर्तमा सिनेमाका अधिकांश कलाकारको उपस्थिति रहेका थिए। बूढानीलकण्ठ मन्दिर परिसर भित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए।

भोलिबाट सिनेमाको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको छ। यसअघि यो सिनेमाको स्क्रिप्ट पूजा पनि गरिएको थियो। ‘जनै हराएको बाहुन’ लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन्। सिनेमामा विजय बराल, सुशांक मैनाली, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, रियर राई, भोलाराज सापकोटालगायत कलाकारको अभिनय रहनेछ।निर्माण टिमका अनुसार भोलि काभ्रेपलान्चोकको पनौतीबाट सिनेमाको छायांकन सुरु हुनेछ। पाल्पा र काठमाडौंमा पनि छायांकन हुनेछ। ‘जनै हराएको बाहुन’ ले गाउँदेखि सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित घटना र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनको कथा भन्नेछ। सिनेमाले आमा र छोराबीचको भावनात्मक कथा भन्नेछ।

शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुरा गर्दै अभिनेत्री मिरुनाले भनिन्, “यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी, सम्पूर्ण टिमलाई नै धन्यवाद भन्न चाहन्छु। यसमा मेरो क्यारेक्टर मेरो लागि विशेष छ।” असोसियट निर्देशक राउतले ‘जनै हराएको बाहुन’ मा हामी सबै नेपालीको कथा रहेको बताए। “यसमा हाम्रो सम्बन्धको कथा छ, दाजुभाइबीचको सम्बन्धका बारेमा छ, आमा छोराका बारेमा छ,” उनले भने।यस्तै, अभिनेता मैनालीले सिनेमा ‘टलकजङ भर्सेज टुल्के’ रिलिज भएको १० वर्षपछि आफू सिनेमामा देखिन लागेको बताउँदै यो टिममा आबद्ध हुन पाउँदा नै म एकदमै खुसी लागेको बताए। निर्देशक न्यौपानेको यो डेब्यु निर्देशन हो। यो सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्। बलियो लाइनअप रहेको सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। पेपरक्लिप प्रा.लि. को निर्माण रहने सिनेमाका विमल न्यौपाने निर्माता हुन्।

सिनेमाका कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर रहेका छन्। थानेश्वर गौतम र एस डि योगीको संगीत रहने यस सिनेमामा लक्ष्मणराज पौडेल प्रोडक्सन म्यानेजर रहेका छन्। सिनेमाको छायांकन सेड्युल ४० दिनको रहेको छ। यस सिनेमाका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकन गर्नेछन्। भिडियो हेर्नुहोस :

सम्बन्धित समाचारसबै