सिनेसुत्र, बिराटनगर-` नेपाली सिनेमा ‘अञ्जिला’ले रिलिजको पाँचौँ हप्ताको शनिवार समेत उत्साहजनक व्यापार कायम राख्न सफल भएको छ। काठमाडौंसहित देशभरका हलहरूमा झन्डै ५० शो प्रदर्शन भइरहेका छन्, र अधिकांश शोहरूमा दर्शकहरूको उल्लेख्य उपस्थिति देखिएको छ।
फागुन २९ यता नेपाली र विदेशी गरी दर्जनभन्दा बढी सिनेमा प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा कुनै उल्लेख्य असर परेको छैन। बलियो कथा, सशक्त निर्देशन र कलाकारहरूको प्रभावशाली अभिनयका कारण यो सिनेमा दर्शकको रोजाइमा अडिन सफल भएको हो। ‘अञ्जिला’ नेपाली बक्स अफिसमा सबैभन्दा स्थायित्व देखाउने सिनेमा मध्ये एक बन्दै गएको छ।
गत वर्षको अन्त्यतिर प्रदर्शनमा आएको भए पनि ‘अञ्जिला’ले उत्कृष्ट पाँच सिनेमा को सूचीमा स्थान बनाएको छ। अहिले पनि सिनेमा को व्यापारमा खासै गिरावट देखिएको छैन, जसले यो सिनेमालाई लामो समयसम्म प्रदर्शनमा टिक्ने सङ्केत दिएको छ।
यो सिनेमा नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, जसमा एन्जिला आफैँले प्रमुख भूमिकामा अभिनय गरेकी छन्। निर्देशक मिलन चाम्सले सिनेमा की पात्र एन्जिला तुम्बापो सुब्बाले भोगेको जीवन कतै न कतै हामी सबैको जीवनसँग मेल खाने भएकाले दर्शकसँग त्यसको भावनात्मक सम्बन्ध कायम रहेको आफूले बुझेको बताए।
“हाम्रो मेहनतलाई दर्शकले जसरी माया दिनु भएको छ, त्यसले निकै ऊर्जा मिलेको छ। एन्जिलाले भोगेको कथाले दर्शकलाई भावनात्मक सम्बन्ध जोड्न सघायो। अझै केही हप्ता प्रदर्शनलाई निरन्तरता दिने तयारीमा छौँ,” चाम्सले भने।
सिनेमामा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ। 
