सिनेसुत्र, बिराटनगर- समसामयिक सामाजीक तथा राजनीतिक विषयमा निर्माण हुन लागेको सिनेमा ‘बिगुल’को एउटा गीतमा नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले संगीत दिएका छन् । रमेश कोइरालाको निर्देशनमा बन्ने सिनेमाको ‘आउ यस्तो देश बनाऔं’ बोलको गीत बुधबार अनामनगरस्थित सायारेम स्टुडियोमा रेकर्ड गरिएको हो ।
राजेश पायल राईको स्वरमा रहेको सो गीतको शब्द पनि महामन्त्री शर्माले रचना गरेका हुन् । ‘महामन्त्री शर्माले निकै सान्दर्भीक शब्द र मिठासपूर्ण संगीत सृजना गर्नुभएको छ,’ निर्देशक कोइरालाले भने, ‘बिगुल’मा यो गीतको उपस्थिति निकै अर्थपूर्ण छ । कुशल राजनीतिज्ञका साथै गीतसंगीतमा समेत निकै दख्खल राख्ने बिश्वप्रकाश दाईको शब्द, संगीतप्रति नतमस्तक छु ।’
म्याग्नेलिया ग्रुप प्रालिको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको सिनेमामा नरेन खड्का, बेनिशा हमाल, रमेश बुढाथोकी, गीता अधिकारी, सुमोद भारद्वाजलगायतका कलाकार अनुबन्धित भइसकेका छन् । निर्देशक कोइरालाले ‘बिगुल’ले आम दर्शकमा मनोरञ्जनका साथै राष्ट्र र राष्ट्रियताको बिषयमा चेतना जागृत गराउन प्रयत्न गर्ने बताए ।
शिब ढकालले खिच्ने सिनेमाको कथा दिनेश कोइरालाको हो भने पटकथा, संवाद मौनता श्रेष्ठले लेखेका हुन् । बैशाख तेश्रो साताबाट चितवनका विभिन्न स्थानमा खिचिने सिनेमाका गीतमा बिश्वप्रकाशका साथमा अर्जुन पोखरेल र मनोज चौलागाईको संगीत छ । कविराज गहतराजको कोरियोग्राफी रहेको सिनेमाको निर्माण ब्यबस्थापकमा श्याम केसी छन् । 