सिनेसुत्र, बिराटनगर- विराटनगरको एक समयको गौरव, पूर्वाञ्चलकै पहिलो सिनेमा हल हिमालय टाँकिजले आज भने निकै लज्जास्पद कारणले चर्चा बटुल्यो। व्यवसाय कर, मनोरञ्जन कर, घरबहाल कर र सम्पत्ति करसमेत गरेर लगभग करिब ४० देखि ७० लाख रुपैयाँ ( यकिनन पुष्टि नभएको ) नगरपालिकालाई नतिरेको भन्दै आज विराटनगर महानगरपालिकाको राजस्व शाखा र नगर प्रहरीको टोली हलमै तालाबन्दी गर्न पुग्यो ।
नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार, पटक–पटक तागादा गर्दा पनि सम्पर्कमा नआए, न त चासो देखाएको पौडेलले बताए । तालाबन्दीको तयारीसहित नगर प्रहरीको टोली हलमा पुग्यो, हलका म्यानेजर मनोज मण्डलले १५ लाखको व्यक्तिगत चेक काटेर ‘भोलि कुरौँ’ भन्ने प्रस्ताव गरे। नगर प्रहरीले चेक लिँदै सोमबार बिहान १० बजे महानगरको कार्यालयमा छलफल गर्न बोलाएको छ।
राजस्व महाशाखा प्रमुख सरोज गौतमका अनुसार, वि.सं. २०७० यता एकपछि अर्को गर्दै थुपारिएको करको भार अहिले हिमालय टाँकिजमाथि बेमौसमको हिउँझैँ खसेको छ। उनले थपे, “घरको क्षेत्रफल कम देखाएर कर तिरिएको थियो, अहिले नयाँ नापजाँच हुँदा वास्तविक क्षेत्रफल बढी देखिएको छ। निर्णय प्रक्रिया चलिरहेको छ।”
कुनै समय विराटनगरको सिनेमा क्षेत्रको मेरुदण्ड मानिएको यो हल अहिले जिर्ण बन्दै गएको छ। प्रविधिको उछाल, मल्टिप्लेक्सहरूको आगमनसँगै हिमालय टाँकिज जुर्मुराउने होइन, झनै खाकिदै गएको छ।
हिमालय टाँकिजका मेनेजर मनोज मण्डलले कर नतिरेको आरोपमा स्पष्ट पार्दै भने, हामीले पटक–पटक गरेर १५ लाख रुपैयाँभन्दा बढी बुझाइसकेका छौं। खासगरी लकडाउनको समयमा हलको आर्थिक अवस्था कमजोर भयो, त्यसकै असर अहिले देखिएको हो।
उनले थपे: म आफैँ महानगरपालिकामा गएर समय–समयमा अलि–अलि गरेर भए पनि कर तिरिरहेकै छु। आज पनि म कार्यालय गएको थिएँ तर कर्मचारी नभएपछि फर्किनु पर्यो।”
हालका लागि हलले १५ लाखको चेक काटेर नगर प्रहरीसहितको टोलीलाई रोक्दै बाँकी रकम भोलि बुझाउने जानकारी दिएको छ। मण्डलको भनाइमा, “हलमा सिनेमा चलिरहेको समयमा ‘दादागिरी’ शैलीमा आएर ताला लगाउने कुरा चाहिँ ठीक लागेन। यसरी व्यवहार गर्दा व्यवसायीको मनोबल कमजोर हुन्छ।”