सिनेसुत्र, बिराटनगर- जेठ ९ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको सिनेमा ‘नरसिंहाः अवतार’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा सिनेमाका सबै कलाकारहरूलाई स्थान दिइएको छ।
दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो सिनेमाको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीत सार्वजनिक भइसकेको छ। यो गीत सामाजिक सञ्जालमा सुपरहिट बनिरहेको छ भने युट्युबमा पनि दर्शकहरूले अत्यधिक रुचाइरहेका छन्।
यसैबीच, निर्माण पक्षले सार्वजनिक गरेको नयाँ पोस्टरमा नायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिव जंग बस्नेत, टार्जन लगायतका कलाकारहरूलाई स्थान दिइएको छ।
निर्देशक तथा लेखक दिवाकर भट्टराईका अनुसार, यो पोस्टरले सिनेमामा कुन कलाकारहरूको गेटअप कस्तो छ भन्ने कुरालाई प्रस्ट पार्दछ। चन्द्र पन्तको कथा रहेको सिनेमामा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफएक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन रहेको छ।
क्रियटिभ सिने आर्ट्सका लागि नेम महर्जन निर्माता रहेको यस सिनेमामा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी रहेको छ।