सिनेसुत्र, बिराटनगर- सिनेमा ‘माइतीघर’को छायांकन आजबाट सुरु गरिएको छ । म्याग्दीको ताकम गाउँमा आज सिनेमाको शुभसाइत गर्दै छायांकन सुरु गरिएको निर्माता रोहित अधिकारीले जानकारी दिए । स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरियो ।
निर्माता अधिकारीका अनुसार, २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ भने बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा बाँकी सुटिङ हुनेछ ।
धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथी थिए । उनले, पहिलो पटक गाउँमा सिनेमाको छायांकन हुन लागेको भन्दै खुशी व्यक्त गरे । यो सिनेमाबाट गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास अध्यक्ष पुनको छ ।
शुभसाइत समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए । उनले पनि उचित प्रचारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए ।
शुभसाइत समारोह अघि सिनेमाको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो । यो सिनेमामा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, बुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारहरूको अभिनय रहनेछ ।
मिलन तामाङको निर्देशनमा बन्ने सिनेमामा सुसन प्रजापतिको छायांकन रहनेछ । सिनेमालाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ ।
रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको सिनेमामा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ । सिनेमाका कार्यकारी निर्माता इश्वर श्रेष्ठ र नीरज कटुवाल हुन् ।
सिनेमाले तामाङ संस्कृतिको कथा भन्नेछ । ४० दिन लगाएर सिनेमाको छायांकन गर्ने तयारी निर्माताको छ । निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै’ र ‘फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए ।