स्मार्टफोनको लतले बिथोलिएको बाल्यकाल, ‘झिल्को’ प्रिमियर पछि प्रदशनमा

0 Shares

सिनेसुत्र, बिराटनगर- डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असर समेटिएको नेपाली सिनेमा ‘झिल्को’ बिहीबार साँझ ग्रान्ड प्रिमियरसँगै सार्वजनिक प्रदर्शनमा आएको छ। वितरण कम्पनी डिसिएनले उपलब्ध गराएको तथ्याङ्क अनुसार, सिनेमा आज देशभर ११६ शोमार्फत प्रदर्शनमा आएको छ।

काठमाडौंमा सम्पन्न प्रिमियरमा उपसभामुख इन्दिरा राना मगरको विशेष उपस्थिति रह्यो। उनले सिनेमा ले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि एउटा सिकाइ रहेको धारणा राखिन्। “हरेक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नुपर्ने सिनेमा हो। गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो सिनेमा लाई विशेष सिनेमा को रूपमा सबैलाई देखाउने अभियान चाल्नुपर्छ,” उपसभामुख राना मगरले भनिन्।

प्रिमियर कार्यक्रममा पत्रकार, सिनेमा कर्मी, मनोविज्ञान परामर्शदाता, बाल चिकित्सक तथा बालबालिकाको हितमा क्रियाशील अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो। चिकित्सक र परामर्शदाताहरूले बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन सिनेमा ले ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।‘झिल्को’ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता, र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ। बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छन् भने साथमा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय रहेको छ।

यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यो सिनेमा मिडिया फर कल्चर प्रा.लि. को ब्यानरमा निर्माण गरिएको हो। सिनेमा को छायाङ्कन दीपक बज्राचार्य, सम्पादन निमेष श्रेष्ठ, साउन्ड तथा कलर श्याम कुँवर, र साउन्ड डिजाइन उत्तम न्यौपानेले गरेका हुन्। पटकथा यादवकुमार भट्टराई, अरुणदेव जोशी र देव व्रतको सहकार्यमा तयार भएको हो।

सिनेमा का कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्। सिनेमा जनता टिभीको सहकार्यमा निर्माण गरिएको हो।

सम्बन्धित समाचारसबै