तीन युवतीसँगको त्रिकोणात्मक प्रेमकथा देखाउने ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ २६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ। निर्माण टिमले शुक्रबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरेको हो।

गीतमा प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको छ भने स्वर प्रशान्त शिवाकोटी र विज्ञानी पराजुलीको रहेको छ। पहिलो नजरमै बसेको प्रेम र त्यसपछि जन्मिने कल्पनालाई गीतमा आकर्षक ढंगले प्रस्तुत गरिएको छ।

सुन्दर युवती देखेपछि युवकको मनमा उठ्ने भावना र उसले बुन्ने जीवनका सपनामा गीत केन्द्रित छ। प्रेमिल भाव बोकेको गीतले सिनेमा पूर्ण रूपमा प्रेमकथामा आधारित रहेको संकेत गर्छ। गीतमा त्रिकोणात्मक प्रेम प्रस्तुत गरिएको छ, जहाँ एक युवकको तीन युवतीसँगको प्रेम सम्बन्ध देखाइएको छ।गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र नीति शाहलगायत कलाकारको अभिनय रहेको छ। यो सिनेमा रेखा थापाले निर्देशन गरेकी हुन्। ‘हिम्मतवाली’ र ‘मालिका’ निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय सिनेमा हो।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भइरहेको सिनेमामा नेपाली कला क्षेत्रका वरिष्ठदेखि वर्तमानका चर्चित कलाकारहरूको अभिनय रहेको छ। सिनेमामा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह मुख्य भूमिकामा छन्। साथै लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ र बिनोद पौडेललगायत कलाकारको पनि अभिनय रहेको छ।ध्रुव लम्सालको स्क्रिप्ट रहेको सिनेमाले प्रेमकथामार्फत सामाजिक भावनालाई उठान गर्नेछ। सिनेमाका निर्माता हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ हुन्। सुदीप बराल डिओपी रहेको सिनेमामा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक रहेका छन्।

संगीत प्रशान्त शिवाकोटी, ड्रेस डिजाइन सुजेनी मल्ल, मेकअप प्रिया कार्की तथा प्रोडक्सन सुमन तिवारीले सम्हालेका छन्। भदौ २६ गतेबाट प्रदर्शनमा आउने यस सिनेमालाई देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्।

सम्बन्धित समाचारसबै