सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा ‘अञ्जिला’ले प्रदर्शनको ५१ औँ दिनमा भव्य कार्यक्रमको आयोजना गरी सफलता साटासाट गरेको छ । शुक्रवार साँझ सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हलचोक, काठमाडौंमा आयोजित कार्यक्रममा सिनेमाको टिम तथा ५१ दिन मनाएका हलहरूलाई प्रशंसा पत्र प्रदान गर्दै खुसी साटासाट गरिएको हो, जहाँ सशस्त्र प्रहरी बलका सांस्कृतिक समूहहरूले विभिन्न प्रस्तुतिहरू दिए । यस्तै, सिनेमाका गायक तथा सङ्गीतकार थानेश्वर गौतमले पनि ‘अञ्जिला’को चर्चित गीत ‘रात किन हुन्छ’को प्रत्यक्ष प्रस्तुति दिए ।
कार्यक्रममा सिनेमा विकास बोर्ड अध्यक्ष दिनेश डिसी, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सिनेमा विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई लगायत सशस्त्र प्रहरी बलका विभिन्न ओहदाका पदाधिकारीहरू, पत्रकारहरू, हल सञ्चालक तथा व्यवस्थापकहरू र अन्य शुभचिन्तकहरूको उपस्थिति थियो । सो अवसरमा सिनेमाका निर्देशक मिलन चाम्सले आफ्नो टिम, दर्शक, पत्रकार तथा सबै शुभचिन्तकहरू सफलताको हकदार भएको बताए ।
गत वर्ष फागुन २९ गतेदेखि प्रदर्शनमा आएको यो सिनेमाले देशभरका ४५ शोहरूसहित ५१ दिन मनाएको हो । सिनेमाले १० करोड रुपैयाँभन्दा बढीको ग्रस कमाइ गर्दै बायोपिक सिनेमामा ऐतिहासिक कीर्तिमान बनाएको निर्देशक मिलन चाम्सले जानकारी दिए । उनले नेपाली सिनेमाको इतिहासमा १० करोड माथिको व्यापार र ५१ दिन पुग्ने पहिलो नेपाली बायोपिक सिनेमा बनेको जिकिर गरे ।
‘अञ्जिला’ नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित सिनेमा हो, जसमा एन्जिलाले आफैँ प्रमुख भूमिका निर्वाह गरेकी छन् । सिनेमामा उनीसँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतको अभिनय रहेको छ ।
वर्ष २०८१ को अन्त्यतिर रिलिज भए पनि ‘अञ्जिला’ ले गत वर्षका उत्कृष्ट पाँच सिनेमामा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको थियो ।

