सिनेसुत्र, बिराटनगर- दिनेश राउतद्वारा निर्देशित बहुप्रतीक्षित सिनेमा ‘महाभोज’ को ट्रेलर सार्वजनिक भएसँगै यसको चर्चा चुलिएको छ। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको ट्रेलरले युट्युब ट्रेन्डिङको अग्रपङ्क्तिमा स्थान बनाएको छ।
सार्वजनिक भएको तीन घण्टामै ट्रेन्डिङ सुरु गरेको यो ट्रेलरले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ र हालसम्म करिब ५ लाख पटक हेरिसकिएको छ। दर्शकहरूबाट “यथार्थको अनुभूति दिलाउने,” “भावनालाई छोएको” र “समाजका पीडित पक्षलाई न्यायोचित आवाज दिएको” भन्दै व्यापक सकारात्मक प्रतिक्रिया प्राप्त भएका छन्।
ट्रेलरको लोकप्रियतासँगै विदेशमा पनि सिनेमा रिलिजको माग बढ्न थालेको छ। यसअघि नै जापान, मध्यपूर्व र अस्ट्रेलियामा रिलिज हुने तय भएको ‘महाभोज’ अब बेलायत र कोरियामा पनि प्रदर्शन हुने भएको छ। निर्देशक दिनेश राउतले अन्य धेरै देशबाट पनि सिनेमा रिलिजका लागि माग आइरहेको जानकारी दिए।
‘महाभोज’ को ट्रेलरले सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि पीडित भएकाहरूको कारुणिक कथालाई प्रस्तुत गरेको छ। सिनेमामा दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौला जस्ता कलाकारहरूको मुख्य भूमिका रहेको छ। ट्रेलरमा सहकारी पीडितहरूको पीडा, जागिरेहरूको मनोव्यथा र राजनीतिक चलखेल गर्नेहरूको कथालाई मार्मिक ढङ्गले देखाइएको छ।
हिमाल कडरिया निर्माता रहेको यो सिनेमा क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको प्रस्तुति हो। विकास सुवेदीले लेखेको ‘महाभोज’ जेठ १५ गते नेपालसँगै विश्वका अन्य केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ। ट्रेलर हेर्नुहोस :