‘नरसिंहाः अवतार’ले पहिलो सातामा २ करोड ४ लाख कमायो

0 Shares

सिनेसुत्र, बिराटनगर- महानायक राजेश हमालको ८ वर्षपछिको कमब्याक सिनेमा ‘नरसिंहाः अवतार’ले आज शुक्रबारबाट दोस्रो साता प्रवेश गरेको छ। निर्माण पक्षले सिनेमाको पहिलो सप्ताहन्त कलेक्सन पनि सार्वजनिक गरेको छ। जसअनुसार सिनेमाले पहिलो साता दुई करोड ४ लाख ग्रस कलेक्सन गरेको छ।

सिनेमामा राजेश हमालको अनुबन्धसँगै चर्चामा आएको यो सिनेमाका लागि स्वयं महानायक हमाल पनि दिलोज्यान दिएर लागेका छन्। सिनेमाको प्रमोसनमा महानायक हमाल खासै हिँड्दैनन्। तर सिनेमा ‘नरसिंहाः अवतार’का लागि भने उनी सिनेमा रिलिज भएदेखि नै दर्शकसँग साक्षात्कार गर्न व्यस्त छन्। सिनेमा रिलिजको सुरुवाती दिनमा काठमाडौं उपत्यकाका प्रमुख सिनेमा हल पुगेर दर्शकसँग साक्षात्कार गरेका हमाल यतिबेला देश दौडाहामा छन्।उनी ‘नरसिंहाः अवतार’का दर्शक भेट्नका लागि पूर्वी नेपालको यात्रा पूरा गरेर यतिबेला पश्चिम नेपालमा छन्। यात्रामा उनलाई सिनेमाका अभिनेता राज कटुवाल, अभिनेत्री सनिशा भट्टराई, वितरक छविराज ओझालगायतले साथ दिइरहेका छन्।

सिनेमाका उपत्यका वितरक करण श्रेष्ठका अनुसार दोस्रो सातामा आइपुग्दा सिनेमाप्रति दर्शकको क्रेज उत्तिकै बढी छ। सिनेमा हेर्ने अधिकांश दर्शकले सिनेमामा राजेश हमालको उपस्थितिलाई उत्कृष्ट मानेका छन्।

दीवाकर भट्टराईको निर्देशनमा तयार भएको सिनेमामा हमालसहित राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, नीर शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी लगायतको अभिनय छ। क्रियटिभ सिने आर्ट्सको ब्यानरमा नेम महर्जन, दीपक ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको सिनेमामा लगानी छ। यसमा राजु विक्रम थापाको डीओपी र साहिल खानको सम्पादन छ।

सम्बन्धित समाचारसबै