सिनेसुत्र, बिराटनगर- लेखक तथा निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्न लागेको सिनेमा ‘आ बाट आमा’मा अभिनेताका रुपमा पल शाह अनुबन्ध भएका छन्। उनलाई हालै निर्माण टिमले सिनेमाका लागि अनुबन्ध गरेको हो। पल शाहले यो सिनेमाको स्क्रिप्ट मन परेको कारणले आफूले सिनेमामा काम गर्न राजी भएको बताए। सिनेमामा अनुबन्ध भइसकेपछि उनले आफूलाई सिनेमाको स्क्रिप्टले भावुक बनाएको र काम गर्न उत्साहित भएको बताए।
यो सिनेमाको छायांकन चाँडै गर्नका लागि आफूले निर्देशक पन्तलाई आग्रह गरेको पलको भनाइ छ। उनले भने, ‘सबैभन्दा पहिला त यो सिनेमाको स्क्रिप्ट मन पर्यो मलाई। स्क्रिप्टमा एकदमै इमोसनल छ। अनि टिममा पनि दिग्गज कलाकारहरूको टिम लिएर निर्माण गर्न लाग्नु भएको रहेछ।
त्यसैले पनि मैले ‘आ बाट आमा’मा काम गर्न लागेको हो। साथसाथै चन्द्र पन्त दाइको यसअघिको सिनेमा ‘ह्रस्व दीर्घ’ हेर्दाखेरि उहाँले अति राम्रो मेकिङ गर्नु भएको थियो। त्यस कारण यो ‘आ बाट आमा’ पनि मेकिङको हिसाबले राम्रो बन्नेछ।’
उनले आफूले खेलेको अहिलेसम्मका सिनेमा मध्ये यसको कथा एकदमै राम्रो रहेको बताए।
‘यो सिनेमाको स्क्रिप्ट पनि हामीले २–३ पटक सुन्यौँ। यो सुन्ने र सुनाउने सबै मान्छे इमोसनल भएका थियौँ,’ उनले भने, ‘मैले अहिलेसम्म गरेको सिनेमामध्ये यो नै इमोसनल सिनेमा बन्छ भन्ने मलाई लाग्छ। र दर्शकले पनि अति नै मन पराउनुहुन्छ भन्नेमा म ढुक्क छु र पूरै टिम नै ढुक्क छ।’
उनले यो सिनेमामा आफ्नो क्यारेक्टरको बारेमा अहिले जानकारी दिन चाहेनन्। केही समयपछि यसको बारेमा थप जानकारी दिने पलको भनाइ छ। यसअघि यो सिनेमामा आमाको भूमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्। निर्देशक पन्तले नै गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘ह्रस्व दीर्घ’मार्फत १६ वर्षको अन्तरालमा नेपाली रजतपटमा पुनरागमन गराएका थिए।
त्यो सहकार्य निकै दर्शकले मन पराएका थिए। त्यसैले पनि होला, सोही सिनेमाका निर्देशक पन्तसँग उनी दोस्रो सिनेमामा सहकार्य गर्न लागेकी हुन्। निर्देशक पन्तले सिनेमा ‘आ बाट आमा’मा विपनाको शीर्ष भूमिकामा रहने जानकारी दिएका छन्।
अभिमन्यु निरवीले स्क्रिप्ट लेखिरहेको यस सिनेमाको थिम पोस्टर केही दिनअघि सार्वजनिक गरिएको थियो। जहाँ आमाको आँखाबाट खस्न लागेको आँसुलाई बच्चाको हातले अड्याउने कोसिस गरेको थियो। सिनेमाले आमा र सन्तानबीचको गहिरो कथा भन्ने छ। यस सिनेमामा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकहरूको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए। उनका अनुसार यो सिनेमा आगामी फाल्गुन १५ गतेबाट सार्वजनिक रूपमा प्रदर्शनमा आउने छ।

