सिनेसुत्र, बिराटनगर- अभिनेता अनमोल केसीले आफ्नो नयाँ सिनेमा ‘बाटुलो जुन’को छायाङ्कन धादिङको काउलेबाट सुरु गरेका छन् । आजबाट प्रारम्भ भएको यस सिनेमाको पहिलो चरणको छायाङ्कन केही दिन मात्र चल्नेछ भने बाँकी छायाङ्कन भदौमा गरिने निर्माण पक्षले जनाएको छ ।
सिनेमाको छायाङ्कन सुरु भएसँगै निर्माण पक्षले अनमोल केसी र नव-नायिका प्रिन्सी खतिवडाको फर्स्ट-लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा अनमोल दाह्री पालेको अवस्थामा प्रिन्सीसँगै कुनै दृश्यमा टोलाइरहेको देखिन्छ । यो लुक्सले पुराना चर्चित जोडी भुवन केसी र तृप्ति नाडकरको झल्को दिने चर्चा चलेको छ ।
जिया केसीको लगानीमा बन्न लागेको ‘बाटुलो जुन’को बजेट करिब २५ लाख रुपैयाँ मात्र रहेको बताइएको छ । सिनेमाको कथावस्तु अङ्गुर खेतीमा आधारित भएकाले छायाङ्कनका लागि निर्माण टोली धादिङको काउले पुगेको हो ।
सिनेमामा अनमोल र प्रिन्सीबाहेक अन्य कलाकार को-को रहनेछन् भन्ने बारेमा भने केही खुलाइएको छैन । यद्यपि, अनमोलको यो नयाँ लुक्सले दर्शकहरूमाझ उत्सुकता बढाएको छ । निर्देशक भुवन केसीले यस पटक अनमोललाई दर्शकले यसअघि कहिल्यै नदेखेको अवतारमा देख्न पाउने र यो सिनेमा विशेष हुने बताएका छन् ।
