सिनेसुत्र, बिराटनगर- साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको **सिनेमा ‘द ब्ल्यू लाइट’**को पहिलो झलक सार्वजनिक भएको छ। सिनेमाकी मुख्य पात्र अभिनेत्री बेनिशा हमालको जन्मदिनको अवसर पारेर निर्माण पक्षले पहिलो झलकसँगै पोस्टर पनि सार्वजनिक गरेको छ।
मंसिर १२ गते रिलिज हुने सिनेमाको टिजरमा मनोवैज्ञानिक तनावमा रहेका पात्रहरू प्रस्तुत छन्। आफ्नो बुवाको मृत्यु भएको सपना डराइडराई बुवालाई सुनाइरहेकी छोरी र उनलाई डरबाट बाहिर निकाल्न खोजिरहेको बुवाबाट पहिलो झलक सुरु हुन्छ। बुवाले छोरीलाई उनको डर दूर गराउन सपनामा मरेको देखेको मान्छेको आयु लामो हुन्छ भन्दै कन्भिन्स गर्छन्।
त्यसपछि आफूलाई कमजोर भएको महसुस गरेपछि कठोर र सहासी बनाउन हतियार लिएर हिँडिरहेकी युवती र चाल सुनिरहेकी अर्की युवतीबीचको डर र डर हटाउन गरिएको प्रयास छ, जसले दर्शकलाई तर्साउँछ। पहिलो झलकले सिनेमा साइकोलोजिकल थ्रिलर भएको पुष्टि गर्छ।
पहिलो झलक भन्दै निर्माण पक्षले निलो पृष्ठभूमिमा सिनेमाका मुख्य तीन कलाकारलाई प्रस्तुत गरेको छ। पहिलो झलकमा बेनिशासँगै अपर्ण थापा र सृष्टि श्रेष्ठ छन्। तीनै जना तनावपूर्ण भावमा छन्। एंग्री लुक्समा रहेकी सृष्टि श्रेष्ठको हातमा आलो रगत लतपतिएको बन्चरो छ। उनले भर्खरै बन्चरो कसैमाथि प्रहार गरेको अनुमान लगाउन सकिन्छ।
‘द ब्ल्यू लाइट’ लाई बलिराम चौहानले निर्देशन गरेका छन्। प्रतिक्षित सिनेमा ‘बलिदान’का लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानको यो डेब्यु सिनेमा हो।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको सिनेमा ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन्। सिनेमाको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
निर्माण पक्षले कलाकारको भूमिका र सिनेमाको कथाबारे प्रष्ट पारेको छैन। निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने बताएका छन्। बलिराम चौहान (ग्याट्स्वी) निर्माता रहेको ‘द ब्ल्यू लाइट’को सह-निर्माता भोलानाथ कटुवाल र रमन ग्रे हुन्।
कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहेका छन्। सिनेमाको छायांकन मैनालीले नै गरेका हुन्। आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको सिनेमामा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन्।