सिनेमा ‘शाम्बाला’ को नेपाल रिलिज घोषणा । आफू जिवित हुन्जेल युटुबमा सिनेमा नआउने

0 Shares

सिने सुत्र, बिरटनगर – निर्देशक मिन बहादुर भामको निर्देशन तथा निर्माण रहेको सिनेमा ‘शाम्बाला’को नेपाल रिलिज मिति घोषणा गरिएको छ । शुक्रबार ललितपुरमा एक कार्यक्रम आयोजना गर्दै सिनेमाको प्रदर्शन मिति घोषणा गरिएको हो ।

उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा सिनेमाले उठान गर्छ । शाम्बाला’को निर्माण बजेट १४ करोड २१ लाख २० हजार रुपैयाँ रहेको छ ।

निर्देशक भामका अनुसार ‘शाम्बाला’ नेपालमा भदौ २८ गतेबाट रिलिज हुनेछ । ‘शाम्बाला’ बर्लिन सिनेमा महोत्सवको अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको विधामा छनोट भएको थियो । उक्त महोत्सवको यो विधामा छनोट हुने ‘शाम्बाला’ पहिलो नेपाली फिचर सिनेमा हो ।

 

निर्देशक मीन भामले यो सिनेमा युट्युबमा कहिल्यै नआउने जनाए। उनले भने, “मेरो सिनेमा युट्युबका लागि भनेर बनाएकै होइन। मेरो पहिलो सिनेमा ‘कालो पोथी’ पनि युट्युबमा छैन र ‘शाम्बाला’ पनि युट्युबमा आउने छैन। ओटीटी प्लेटफर्ममा सानो स्क्रिनमा हेर्नुपर्ने हुन्छ। त्यहाँ नराख्ने भन्ने त सम्भव नहोला तर युट्युबमा आउँदैन। म भन्छु, सिनेमा सकेसम्म हलमै हेरौँ।” उनले सिनेमा बन्नको लागि बहुपक्षीय मेहनत हुने भन्दै सिनेमा भनेको हलमै हेर्न बनाइने जिकिर गरे।

‘सम्हालिन्छ कहिले मन’ फेम्ड अभिनेता सोनम तोप्देनको मुख्य भुमिका रहेको सिनेमा ‘शाम्बाला’ स्विट्जरल्यान्डको सिनेमा महोत्सव लोकार्नोको ७७ औँ संस्करणमा छनोट भएको छ । पियाजा ग्राण्डे विधामा सिनेमा छनोट भएको हो ।

सुनी फिल्म्स प्रालिको ब्यानरमा निर्माण भएको ‘शाम्बाला’मा सोनमका अलवा थिन्ले ल्हामो, तेन्जिङ डल्हा, कर्मा वाङ्ग्याल गरुङ, कर्मा शाक्य,लोटन निमलिङ्ग, जंग बहादुर लामा लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।

सिनेमाको कथा मिन भाम र अविनाशविक्रम शाहले लेखेका हुन् । उच्च हिमाली गाउँकी एक गर्भवती महिलालाई श्रीमान्ले छोडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेकी महिलाको कथा सिनेमाले उठान गर्छ ।

सिनेमाको नेपाल रिलिजको जिम्मा एप्पल इन्टरटेनमेन्टले लिएको छ ।

सम्बन्धित समाचारसबै