सिनेसुत्र, बिराटनगर- सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले तेस्रोलिंगी महिलाले आफ्नो पहिचान खुलाउन गरेको संघर्ष देखाएको छ । आफूभित्र रहेको लिंगीय पहिचान उजागर गर्न खोज्ने छोरो र त्यसलाई दबाउन खोज्ने बुवाबीचको संघर्ष र तनावलाई ट्रेलरमा समेटिएको छ ।
सानैदेखि महिलाको पहिरन मन पराउने छोरोलाई बाउले लाउरे बनाउन जबरजस्ती दिएको दबाबाट कसरी ऊ बाहिर निस्किन्छ, ट्रेलरमा देखाइएको छ । आफ्नो वास्तविक पहिचान लुकाएर बस्न नसक्ने अवस्थामा पुगेपछि घर छोड्न गरेको निर्णय र यसबीच आफ्ना बुवाआमासँगै छिमेकी, आफन्त र साथीभाइले गर्ने व्यवहार र दिने तनावलाई ट्रेलरले प्रष्ट पारेको छ ।
‘गुन्यु चोलो : द ड्रेस’को ट्रेलरमा सिनेमाका मुख्य पात्र नाजिर हुसेनलगायत अन्य कलाकारलाई देख्न सकिन्छ । ‘गुन्यु चोलो : द ड्रेस’ भदौ १३ गते रिलिज हुँदैछ । समुन्द्र भट्टको निर्देशन रहेको सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको हो ।
‘गुन्यु चोलो : द ड्रेस’मा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । नाजिरसँगै सिनेमामा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।
सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । हलिउड सिनेमा ‘ग्ल्याडिएटर– २’ मा लिजाले स्वर दिएकी थिइन् । यो सिनेमा नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो ।
सिनेमामा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । सिनेमाका कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सिनेमा सहयोगी निर्माता हुन् । आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो । ट्रेलर हेर्नुहोस :