मिरुनाको हिट सिनेमा सूचीमा ‘फ्लप’ हरु पनि छन् : अब ‘जनै हराएको मान्छे’ ले के ह्याट्रिक गर्छ ?

0 Shares

सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भने पनि हुन्छ। किनकी तुलनात्मक रूपमा उनका सिनेमा असफलभन्दा पनि सफल धेरै छन्। सुरुवाती वर्षाका केही सिनेमा छोड्ने हो भने जब उनी स्थापित भइन्, लगातार हिट सिनेमा दिइन्। ‘कबड्डी–४ फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट सिनेमा हुन्। यी तीन सिनेमाले हिटमा ह्याट्रिक गरे।

‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा सफल नभए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ फेरि हिट भए। अब ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ रिलिज हुँदा उनले फेरि दोस्रो पटक हिटमा ह्याट्रिक गर्लिन् त? यदि, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ व्यापारिक रूपमा सफल भयो भने मिरुनाका लागि यो दोस्रो ह्याट्रिक हुनेछ।आम नेपाली समाजको कथा, इमोस्नल टच, अब्बल कलाकारको लाइनअप रहेकाले ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’बाट पनि उनले सफलताको अपेक्षा गरेकी छन्। “जसरी यसअघि सफल भएका सिनेमामा काम गर्दा पोजेटिभ भाइब्स आउँथ्यो। यो सिनेमा गर्दा पनि त्यस्तै महसुस भइरहेको छ,” मिरुना भन्छिन्, “त्यसैले यो सिनेमा बाट पनि धेरै आशा छ। दर्शकले मन पराइदिनुहुन्छ भन्नेमा विश्वस्त छु।”

बलियो लाइनअप रहेको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ। हिमाल न्यौपानेले निर्देशन गरेको यो सिनेमाको असोसियट निर्देशकमा ‘प्रेमगीत ३’ अभिनेता मनिष राउत छन्।

राउतले यसअघि ‘प्रेमगीत ३’ मा मुख्य भूमिका निभाएका थिए भने अहिले निर्देशनतर्फ पाइला चालेका छन्। उनी भन्छन्, “यसले निम्न र मध्यम वर्गीय नेपालीको समस्या उजागर गर्छ। नेपाली दर्शकको मुड र रुचि अनुसार तयार गरिएको यो सिनेमा सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ।”

“हाम्रो केही न केही हराएको हुन्छ, कहिले वस्तु, कहिले सम्बन्ध, कहिले अस्तित्व,” एसोसिएट निर्देशक राउत भन्छन्, “यो कुनै समुदाय विशेषको मात्र नभई सबैको साझा कथा हो। त्यही भएर मिरुना मगरलाई सिनेमा मा जोडेका हुौँ। उहाँ मार्फत आम नेपालीले भोगेको समस्या यो सिनेमा ले देखाउछ। दर्शकको रुचि र चाहनालाई सम्बोधन गर्नेमा म विस्वस्त छु।”आम नेपाली समाजमा गहिरो गरी गुञ्जिरहेको भावनात्मक र सामाजिक यथार्थमा आधारित रहेको सिनेमामा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालागायतको अभिनय रहेको छ।

पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ।सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेको सिनेमामा तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक रहेका छन्। सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ। अलटाइम ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो सिनेमा हो।

 

सम्बन्धित समाचारसबै