‘जारी-२’को टिजर सार्वजनिक : दया, मिरुना र विजयको अभिनयमा च्याब्रुङको तालमा लिम्बु कथा

0 Shares

सिनेसुत्र, बिराटनगर- असोज ३ गते रिलिज हुने सिनेमा ‘जारी-२, सङ अफ च्याब्रुङ’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरले लिम्बु समुदायको पहिचान च्याब्रुङ बाजाको सेरोफेरोमा आफ्नो समुदायको कथा पस्केको छ। च्याब्रुङ नै नाच्न नजान्ने लिम्बुलाई ‘नाङ्गो’ पहाडसँग तुलना गर्ने संवादबाट सुरु हुने २ मिनेट ३४ सेकेन्ड अवधिको ट्रेलरले च्याब्रुङलाई लिम्बुको खुशीको स्वरमा व्याख्या गर्दै, सिनेमाले आफ्नो कथा पेस गर्ने टिजरबाट बुझ्न सकिन्छ।टिजरले सिनेमा आफ्नो सांस्कृतिक पहिचान र त्यसको सेरोफेरोमा सामाजिक र पारिवारिक उकालो–ओरालोमा केन्द्रित हुने जनाउँ दिन्छ। उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन्।

सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ। सिनेमामा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ।बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमा यो वर्ष व्यापार गर्ने सिनेमाको श्रेणीमा राखिएको छ। ‘जारी’ सिनेमा २०८० सालको ब्लकबस्टर सिनेमा हो। सो वर्ष सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो। त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ। ट्रेलर हेर्नुहोस :

सम्बन्धित समाचारसबै