रोहित अधिकारीको घोषणा: ‘माइतीघर’ सिनेमाको गीतमा नाचेर जित्न सकिन्छ ५ लाख रुपैयाँ

0 Shares

सिनेसुत्र, बिराटनगर- दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेबाट रिलिजमा आउन लागेको सिनेमा ‘माइतीघर’को प्रचार–प्रसार आक्रामक रूपमा अगाडि बढिरहेको छ। सिनेमाको देशभरका हलमा ठूला–ठूला पोस्टर राखिएको छ भने विभिन्न स्थानमा होर्डिङ बोर्डहरू टाँसिएका छन्। प्रस्तुतकर्ता रोहित अधिकारीले प्रचारमा कुनै पनि कमी नगर्ने घोषणा गरिसकेका छन्।

यसैबीच, सिनेमा ‘माइतीघर’को शीर्ष गीतमा नृत्य गरेर उत्कृष्ट हुने व्यक्ति वा समूहलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरिएको छ। भदौको पहिलो साता सार्वजनिक हुन लागेको गीतको ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाएर OSR Digital को इमेल osrdigitalnp@gmail.com मा पठाउनुपर्नेछ।ती भिडियोहरू OSR को युट्युब, फेसबुक र टिकटक खाताबाट सार्वजनिक गरिनेछन्। सर्वाधिक धेरै भ्यूज पाउने र उत्कृष्ट कोरियोग्राफी भएको भिडियोलाई छनोट गरी ५ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ।

‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ बोलको गीतमा भिडियो बनाएर भदौ २० गतेसम्म पठाउनुपर्नेछ। भारतीय गायिका सञ्जिवनीको स्वर रहेको यस गीतको उत्कृष्ट भिडियो बनाउनेको नाम असोज १२ गते सार्वजनिक गरिनेछ।

मिलन तामाङ निर्देशित यस सिनेमामा धिरज मगर, केदार घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।चन्द्रकुमार दोङको कथा, सुशन प्रजापतिको डोआपी, रामशरण पाठकको पटकथा तथा संवाद, सुरेन्द्र पौडेलको सम्पादन, किरण खरेल, कुमार स्याङ्बा र राम अविरलको गीत, चन्द्रकुमार दोङ, एलिस कार्की, एसडी योगी र स्वर्गीय जयदेवको संगीत, अष्ट महर्जनको एक्सन यस सिनेमामा समावेश छन्।

रविन शेरचन र धिरज तामाङको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता ईश्वर श्रेष्ठ र निरज कटुवाल हुन्।

सम्बन्धित समाचारसबै