जनै कसको हराउँछ? जनैको रहस्य बोकेको सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लाइ युनिभर्सल सर्टिफिकेट

0 Shares

सिनेसुत्र, बिराटनगर- भदौ ६ गते रिलिज हुने सिनेमा  ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को कथामा के छ भन्नेमा धेरैलाई चासो छ। के हो यसको कथा भन्ने कौतुहलता दर्शकमा मात्रै होइन नेपाली सिने वृत्तमा पनि छ। सिनेमामा कलाकारहरू विजय बराल, केकी अधिकारी, मिरुना मगर, शुशांक मैनालीलगायत छन्।

यी कलाकार कसको के भूमिका र एकअर्कासँग कसको सम्बन्ध के हो भन्ने अहिलेसम्म निर्माणपक्षले खुलाएको छैन। आर्य र मंगोलियन फेस छन्। तर, एकअर्कासँगको सम्बन्ध खुलिसकेको छैन। मुख्य भूमिकामा विजय छन्। साथीको भूमिकामा शुशांक छन्। सम्भवत जनै यी दुई कलाकारसँग जोडिएर आउँछ। तर, सिनेमाको नामसँग जोडिएको जनैसँग चाहिँ विजय जोडिन्छन् कि शुशांक हालसम्म निर्माणपक्षले केही उल्लेख गरेको छैन।

त्यसैले हालसम्म जनैको प्रश्न अनुत्तरित नै छ। कसरी हराउँछ जनै, कसको हराउँछ जनै – यसका लागि हलमा सिनेमा नै कुर्नुपर्ने निर्माणपक्षले बताएको छ। सिनेमा ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ भदौ ६ गते रिलिज हुँदै छ। यसमा बलियो लाइनअप रहेको छ।सिनेमामा विजय बराल, भोलाराज सापकोटा, केकी अधिकारी, मिरुना मगर, गौरव पहाडी, सुशांक मैनाली, रियर राई, भावना खपांगी मगर, रुपेश लामा, सुमन थापालगायतको अभिनय रहेको छ। पेपरक्लिपको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता कमल न्यौपाने र विमल न्यौपाने हुन्। कार्यकारी निर्मातामा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत रहेको सिनेमामा नवीन गुरुङ डीओपी र कृष्ण परियारको सिनेमेटोग्राफी रहेको छ। सिनेमाको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक रहेका छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश के.सी सहायक निर्देशक छन्। सिनेमाका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।गोविन्द शाहीको काफिया फिल्मसले वितरणको जिम्मा लिएको छ। अलटाइम ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारंगी’ पछि विजय बरालको मुख्य भूमिकामा आउन लागेको यस वर्षको यो पहिलो सिनेमा हो।

यस्तै, ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ लाई सेन्सर बोर्डबाट ‘यू सर्टिफिकेट’ मिलेको छ। सेन्सर बोर्डले सबै वर्गका दर्शकले हेर्न मिल्ने गरि युनिभर्सल सर्टिफिकेट दिएको हो । केन्द्रीय सिनेमा जाँच समितिबाट युनिभर्सल सर्टिफिकेट प्राप्त गरेको यो सिनेमाको रनटाइम २ घण्टा २३ मिनेट तय छ।

सम्बन्धित समाचारसबै