सिनेसुत्र, बिराटनगर- आगामी मंसिर १८ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘अभिमन्यु : च्याप्टर १’ लाई सानो सिनेमा नभन्न निर्माता विनोद पौडेलले आग्रह गरिरहेका छन् । सिनेमा सानो र ठूलो रिलिजपछि मात्रै भन्न सकिने उनले बताएका हुन् । यसको अर्थ जुन सिनेमाले धेरै कमाई गर्छ त्यो ठूलो, जुनले थोरै कमाउँछ त्यो सानो हो भन्ने निर्माता पौडेलको बुझाई छ । कास्टिङ र कजेटले मात्रै सिनेमालाई ठूलो भन्न नसकिने उनको तर्क छ ।
ठूलो बजेटको सिनेमालाई ठूलो भन्ने कि नभन्ने यो बहसको विषय होला । तर, उनले भन्न खोजेको स्टारकास्ट हुँदैमा ठूलो र स्टारकास्ट नहुँदैमा त्यो सानो सिनेमा हो भन्न हुँदैन भन्ने उनको तर्क छ । अनि अर्को कुरा, स्टाकास्टका सिनेमा चल्छन् र स्टारकास्ट नहुँदैमा चल्दैन भन्ने चाहिँ हुँदैन ।
यो उनले नै निर्माण गरेको सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’ले पनि पुष्टि गरिसकेको छ । डेढ करोडमा बनेको सिनेमाले नेपाली बक्सअफिसमा मात्रै ४६ करोड ८० लाख भन्दा धेरै कलेक्सन गर्यो । यो सिनेमालाई ठूलो भन्ने कि सानो ? जे होस् विनोदले निर्माण गरेको सिनेमाले नेपालमा रेकर्ड ब्रेक व्यापार गरेको थियो । उनको दोस्रो सिनेमा ‘अभिमन्यु’ कस्तो चल्ला भन्ने धेरैको जिज्ञासा छ ।
निर्माता विनोद पौडेलले ‘अभिमन्यु’लाई अन्डर डगहरूको सिनेमा भनेका छन् । नहेप्न चेतावनी दिएका छन् । यो सिनेमा विभिन्न कारणले पटकपटक प्रदर्शन मिति स्थगीत हुँदै आएको थियो । यसले उनमा आफ्नो सिनेमालाई लिएर उच्च आत्मविश्वास देखिएकाले ‘अभिमन्यु’ राम्रो नै छ कि भन्ने अपेक्षा भने गर्न सकिन्छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर चौरासिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल, शिशिर वाङ्देल मुख्य भूमिकामा छन् । सुशान्त गौतमले निर्देशन सिनेमा ‘अभिमन्यु’को क्रिएटिभ निर्देशक मदन थापा हुन् । यो सिनेमामा मुकेश खनालको लेखन छ ।
‘अभिमन्यु : च्याप्टर १’का निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । यो सिनेमाको लाइन प्रोड्युसर जीवन शाक्य हुन् । शरद महतोको डिओपी रहेको सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादक रहेका छ । यो सिनेमा नेपाली र हिन्दी भाषामा नेपाल र भारतसहित विश्वव्यापी प्रदर्शन गरिँदैछ । ट्रेलर हेर्नुहोस :