सिनेसुत्र, बिराटनगर- नेपाली सिनेमा क्षेत्रका लोकप्रिय नायक पल शाह अब सिनेमा निर्माणमा पनि अगाडि बढेका छन् । पल शाह फिल्मस्को प्रस्तुतिमा निर्माण हुन लागेको सिनेमा ‘यानीमायाः रिदम अफ लभ’को छायांकन केही समयमा नै सुरु हुँदैछ । यो सिनेमाको छायांकन जेठको १ गतेबाट सुरु गर्ने तयारी निर्माणपक्षले गरेको छ ।
निर्माणपक्षले आज सिनेमाको फस्टलुक सार्वजनिक गरेको छ । यो पोष्टरलाई ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले तयार पारेका हुन् । सिनेमामा नायक पल शाह र नव–नायिका अञ्जना मगरको जोडी पक्का भएको छ । पल र अञ्जनाले यसअघि म्यूजिक भिडियोमा काम गरेका छन् । बिराटनगरमा सिनेमा हेर्न टिकट बुकिंग गर्न यहाँ तल थिच्नुहोस
यो सिनेमालाई ओम प्रतिकले निर्देशन गर्दैछन् । ओमले सिनेमा ‘मोहर’लाई निर्देशन गरेका थिए, जसमा नायक पल शाह मुख्य भूमिकामा थिए । यो सिनेमालाई दर्शकले निकै रुचाएका थिए । अब, ओम र पलले एउटै सिनेमामा फेरि टिमअप गरेका छन् । सिनेमामा पल शाह र चन्द्र ज्योती आलेको लगानी रहनेछ । ‘यानीमाया’लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले, पनि यो सिनेमा प्रेमको कथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ ।
निर्माणपक्षले अन्य जानकारी विभिन्न चरणमा दिँदै जाने बताएको छ । यो वर्ष पलका ‘मोहर’ र ‘आ बाट आमा’ रिलिज भइसकेका छन् । दुवै सिनेमाले दर्शकको अथाहा प्रेम पाए । यसैले, पल आफैले निर्माण गर्न लागेको ‘यानीमाया’ पनि दर्शकका लागि प्रतिक्षामा रहने निश्चित छ ।