‘मेरो डान्स युनिभर्स २’की विजेता रिस्ता गुरूङको ‘आ बाट आमा २’मा धमाकेदार इन्ट्री

0 Shares

सिनेसुत्र, बिराटनगर- चन्द्र पन्तको निर्देशनमा निर्माण हुने सिनेमा ‘आ बाट आमा २’को अभिनेत्रीका रुपमा रिस्ता गुरूङ अनुबन्ध भएकी छन्। सिनेमाका निर्देशक तथा निर्माता चन्द्र पन्त ले उनलाई सिनेमाका लागि अनुबन्ध गरेका हुन्। आइतबार अनुबन्ध भएकी रिस्तालाई निर्माण टिमले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो। अनुबन्धपछि अभिनेत्री गुरुङले राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको बताइन्।

यस्तो राम्रो टिमसँग काम गर्न पाउँदा खुशी लागेको छ, उनले भनिन्, पल शाह या आकाश श्रेष्ठको जोडीमा भन्दा पनि यो टिममा काम गर्न पाउनु नै एकदम भाग्यमानी ठान्छु आफूलाई। सबैसँग काम गर्न पाउँदा हुन्छ मलाई। योसँग र त्योसँग भन्ने छैन मलाई।

यता निर्देशक पन्तले यस सिनेमामा अभिनेत्रीको जोडी को हुने भन्ने विषय खुलाएनन्। निकै चासोका बीच निर्देशकले कसको जोडीका रुपमा अभिनेत्री गुरुङलाई प्रस्तुत गरिने भन्नेबारे मौनता राखे। उहाँ ‘आ बाट आमा २’को हिरोइन हो, उनले मिडियाकर्मीसँग भने, अब उहाँको जोडी को हो, के हो भन्ने कुरा सरप्राइज नै हो।अभिनेत्री गुरुङ ‘मेरो डान्स युनिभर्स २’की विजेता हुन्। आगामी असोज ३० गते अर्थात् दसैंको फूलपातीबाट प्रदर्शनमा आउने यस सिनेमामा यसअघि पल शाह, आकाश श्रेष्ठ, विपना थापा, प्रदीप रावत लगायत साइग्रेस पोखरेल, गजित बिष्ट र नरेन खड्का अनुबन्धित भइसकेका छन्।

यस सिनेमाको कथा तथा पटकथा निर्देशक पन्तकै रहेको छ। गत वर्ष प्रदर्शनमा आएको सिनेमा ‘आ बाट आमा’को यो सिक्वेल हो। उक्त सिनेमाले अघिल्लो वर्ष झण्डै १४ करोड रुपैयाँको बक्स अफिस कलेक्सन गरेको थियो। सोही कथालाई निरन्तरता दिँदै निर्देशक पन्तले सिक्वेल निर्माणको घोषणा गरेका हुन्।

केही सातापछि फ्लोरमा जाने तयारीमा रहेको यस सिनेमा अमेरिका र क्यानडामा प्रदर्शनअघि नै सोल्ड आउट भइसकेको निर्माण टिमले जनाएको छ। त्यहाँ प्रदर्शनका लागि वितरक डोको फिल्म्सले महँगो रकममा खरिद गरेको बताइएको छ, जुन अहिलेसम्मकै महँगो डिल भएको निर्माण पक्षको दाबी छ। नेपालमा यस सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ। आर्या इन्टरटेन्टमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यस सिनेमाका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन्।

सम्बन्धित समाचारसबै