सिनेसुत्र, बिराटनगर- गत शुक्रबारदेखि हलमा प्रदर्शनरत सिनेमा ‘मीतज्यू’ले दर्शकबाट उत्साहजनक साथ पाइरहेको छ। दर्शकको सकारात्मक प्रतिक्रिया बढ्दै गएपछि निर्माण टिम हल–हलमा पुगेर प्रत्यक्ष प्रतिक्रिया संकलन गर्न थालेको छ। राजधानीका केही हलमा दर्शकसँग भेटघाट गरेपछि निर्माण टिम अहिले मोफसल दौडाहामा निस्किएको छ।
बुधबार बिहान सिनेमाका मुख्य कलाकार दयाहाङ राई, टेरिया फौजा मगर तथा निर्देशक अनिल बुढा मगरसहितको टिम नेपालगञ्ज, दाङ र बुटवलतर्फ प्रस्थान गरेको छ। निर्माण पक्षका अनुसार उनीहरूले ती क्षेत्रका विभिन्न हलमा दर्शकसँगै बसेर सिनेमा हेर्ने र प्रतिक्रिया लिने कार्यक्रम तय गरेका छन्।
सिनेमामा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर मुख्य भूमिकामा छन्। उनीहरूका साथै शिशिर वाङ्देल, खड्गबहादुर पुन मगर, पुष्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस सिनेमाका लगानीकर्ता जनक घर्तीमगर हुन् भने निर्देशन अनिल बुढा मगरले गरेका छन्। लोकेश बज्राचार्यको सम्पादन रहेको सिनेमाको छायांकन शिशिर विशंखेले गरेका हुन्। ‘मीतज्यू’लाई आरआर फिल्म्सले नेपालभर वितरण गरिरहेको छ।
